देउराली/ बीपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठानको अनुरोधमा तात्कालीन कोशी बस व्यवसायी सङ्घ र पूर्वाञ्चल यातायात व्यावसायी सङ्घको संयुक्त प्रयासमा २०४५/४६ सालतिर त्यतिबेलाको धरान नगरपालिकामा ३ वटा नगरबस सञ्चालन गरिएको थियो ।

ती नगरबसले हालको धरान उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको औधोगिक क्षेत्रबाट वडानम्बर १३ फुस्रे सम्मको रुटमा एउटा बस, वडानम्बर १४ विजयपुर चौकबाट वडा नम्बर १८ मा रहेको बीपी प्रतिष्ठानको गेटसम्म एउटा र भानुचोकबाट वीपी प्रतिष्ठानको गेट हुँदै वडानम्बर ११ रेलवेको रुटहरूमा घुम्ने गर्थे ।

त्यतिबेला धरानमा जनघनत्व पनि कम थियो । तात्कालीन धरान नगरपालिकामा सार्वजनिक यातायातको रूपमा ४ सयको हाराहारीका १० सिट क्षमताका टेम्पु र मानव शक्तिले चल्ने रिक्सा विशेष गरी भानुचोकबाट बीपी प्रतिष्ठानको गेटसम्म चल्ने गर्थे । १९ वटा वडा रहेको धरान नगरपालिकामा जब नगरबस सञ्चालनमा आयो टेम्पु व्यावसायीले विरोध गर्न थाले प्रत्यक्ष रूपमा विरोध कमै मात्रमा भए पनि अप्रत्यक्ष रूपमा नगरबसलाई अवरोधदेखि क्षति हुने परिस्थिति सृजना भए ।

त्यसका बावजुद पनि नगरबस सञ्चालन भइरहेको थियो । धरान र विभिन्न पहाडी तथा तराइका जिल्लाहरूबाट बीपी प्रतिष्ठानमा उपचारका लागि आउने मानिसहरूलाई नै भनेर भानुोकबाट बीपी प्रतिष्ठानसम्म चल्ने गरेका साना सवारी साधन र प्रतिष्ठानको अनुरोधमा प्रतिष्ठानलाई नै लक्षित गरेर सञ्चालन भएका नगरबसले अन्तत सञ्चालनको ६ महिनामै घुँडा टेक्यो र बन्द भयो धरानको नगरबस सेवा ।

नगरबसको आवश्यकता

धरान अहिले २ वटा गाउँपालिका गाभिएर विशाल क्षेत्रफल र जनघनत्व सहितको उपमहानगरपालिका भएको छ । पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार रहेको धरान ती पूर्वी जिल्लाहरूको व्यापारिक केन्द्र पनि हो । जसका कारण यहाँका सडकहरू ब्यस्त रहने गर्दछन् ।

हाल धरानमा धरान भित्र सञ्चालन हुने यातायातका साधन भनेको तीन सिट क्षमताको टेम्पु र ४ सिट क्षमताको सिटि सफारी नै हो । सङ्ख्यात्मक हिसाबले हेर्दा धेरै मानिएका टेम्पु र सिटिसफरीले धरान भित्रैको लामो रुट तय गरेर सञ्चालन गरेका छैनन् । महादेव चौक, छाता चौक अथवा तिनकुनेबाट यदि कोही बीपी प्रतिष्ठान जानुपर्यो भने २ पटक टेम्पु चढ्नुपर्ने हुन्छ । यसरी धरानभित्रै करिब ३ देखि ५ किलेमिटरभित्रै पनि २ पटकभन्दा बढी सबारीसाधन परिर्वत गर्नुपर्ने भएकाले यो झञ्झटिलो र आवश्यकताभन्दा बढी खर्चिलो छ । दैनिक आवत जावत हुने यस्ता धेरै ठाउँहरू छन् जो दैनिक २ देखि बढी टेम्पु परिर्वतन गरेर हिंड्नुपर्ने वाध्यता छ ।

साविकको पाँचकन्या र विष्णुपादुका गाविसबाट बजार क्षेत्र आउनुपरेमा टेम्पुले ५० देखि २०० सम्म लिने गरेका छन् । जुन नगरबस सञ्चालनमा आए नेपाल सरकारले तेकेको भाडा दर अनुसार अधिकतम २० रुपैयाँसम्म हुने कोशी यातायत व्यावसायी तथा यात्रु सेवा प्रा.लि.का अध्यक्ष कृष्ण सुबेदीको भनाइ छ । विद्यार्थी र कार्यालयमा आउने कर्मचारी तथा दैनिक ज्यालादारीमा बजार क्षेत्रमा काम गर्न आउनेका लागि पनि भाडा तथा सिट क्षमताका कारण असहज हुने गरेको स्थानीयहरूको गुनासो छ ।

धरानका पर्यटकीय क्षेत्रहरू विजयपुर, विष्णुपादुका, लगायतका क्षेत्रहरू, हरियालीदेखि फुस्रे पानबारीदेखि रेल्वे सम्मलाई जोड्ने गरी पर्यटन मैत्री नगरबस सञ्चालन भए धरान आएका पर्यटकहरूले गन्तव्यहरूको सहज रूपमा यात्रा गर्न सक्ने धरानका पर्यटन व्यावसायीहरूको भनाइ छ ।

गन्तव्यहरूको पहिचान र प्रवर्धन गर्दै गए पनि आफ्नो सवारीसाधन नभएका मानिसहरू यातायात पहुँचमा सहजता नभएका कारण पनि धरानका धेरै पर्यटकीय क्षेत्रहरूमा पर्यटक आउन नसकेको प्रदेश एकका पर्यटन अभियन्ता कृष्ण साहको भनाइ छ । चिण्डे डाँडा, विष्णुपादुकादेखि धार्मिक तथा ऐतिहासिक पर्यटनको मुख्य गन्तव्य रहेको विजयपुर क्षेत्रमा उपमहानगरपालिका भित्रैका विभिन्न ठाउँहरूबाट यातायतको सहज पहुँच छैन । बाहिरबाट घुम्न आएका पर्यटकहरूले पनि आफ्नो सवारीसाधन नभए कहाँबाट कुन सवारी कहाँसम्म जान्छ भन्ने अलमलिनुका साथै टेम्पु व्यवसायीहरूले गर्ने अमैत्रीपूर्ण व्यावहारका कारण पनि समस्या भोग्ने गरेका छन् ।

धरानमा नगरबस सञ्चालन भए टेम्पु व्यावसायीको मनपरी हट्ने र सहज रूपमा पर्यटकहरू आवतजावत हुने पिण्डेश्वर बाबाधम समितिका अध्यक्ष विकास बनेपालीको भनाइ छ । अत्यधिक टेम्पु र सिटिसफरीका कारण सडकहरूमा लाग्ने जाम र दुर्घटना निम्त्याउन सक्ने भएकाले नगरभित्रको सवारी व्यवस्थापनका लागि पनि लामो रुट धेरै सिट क्षमता भएको नगरबस सञ्चालन हुनु आवश्यक हुने व्यस्त सडकमा दैनिक यात्रा गर्ने यात्रुहरूको भनाइ छ ।

स्व. मेयरको पहल
धरानमा बढ्दै गएको जनघनत्व र पर्यटन विकासले धरानमा भित्रिने मानव चापलाई मध्यनजरगरी स्व. मेयर तारा सुब्बाले धरानमा नगरबस पुनः सञ्चालनका लागि पद स्थापनाकै समयमा पुनः नगरबस सञ्चालनका लागि प्रस्तावना पत्र माग गरेको कोशी यातायत व्यावसायी तथा यात्रु सेवा प्रा. लि.का अध्यक्ष कृष्ण सुवेदीले बताए ।

उनले भने, ‘हामीले त्यतिबेला पानबारी–रेल्वे, विजयपुर–घोपाक्याम गेट, फुस्रो–तिनकुने रुट सहतिको आधा घण्टाको फरकमा ओहोर दोहोर गर्ने गरी ६ वटा बस सञ्चालन गर्न सकिने जानकारी सहितको प्रस्तावना पेश गरेका थियौँ ।’ उनले थपे ‘त्यसमा केही सडकहरूको मर्मत तथा व्यवस्थापन गरिनु आवश्यक छ भनेका थियौँ ।’ मेयर पनि बित्नुभयो त्यसपछि नगरबसको कुनै कुरा उठेन ”

साना यातायात व्यानसायीलाई पर्ने असर
कोशी टेम्पु यातायत प्रा.लिका अध्यक्ष हिमाल श्रेष्ठका अनुसार नगरबस सञ्चालन भए भानुचौक केन्द्रित भएका टेम्पु व्यावसायीहरूलाई असर गर्नेछ । उनी भन्छन् “ तिनकुने, जिरोप्वाइन्ट, रेल्बे भएर भनुचौक आउने टेम्पुहरूलाई मार पर्छ, अहिले धरानमा धेरै टेम्पु र सिटिसफरी धेरै भइसके केहीले मात्र आफ्नो कन्ट्«यकको भरमा कमाएका छन्, नत्र प्रायः ५ लाख खर्च गरेर दिनको ५ सय पनि कमाएको अवस्था छैन । सबैभन्दा पहिला नगरभरी कति टेम्पु सञ्चालन गर्ने भन्ने योजना तयार हुन जरुरी छ ।

बजार क्षेत्रभन्दा पर्यटकीय गन्तव्यहरूलाई जोडेर चलाए साना व्यावसायीलाई असर नगर्ने उनको भनाइ छ । तथापि नगरबस सञ्चालनमा आए पनि टेम्पु व्यावसायीलाई खासै असर नगर्ने धेरै टेम्पू व्यावसायीहरूको भनाइ छ । नगरबसले टेम्पुले जस्तो ३ जना यात्रुलाई बोकेर हिंड्न नमिल्ने र निश्चित समयसीमामा हिंड्नु पर्ने भएकाले नगरबस सञ्चालन भइरहँदा टेम्पु पनि चल्न सक्ने अन्य व्यावसायीहरूको भनाइ छ ।

नगरबस सञ्चालनमा चुनैती
प्रचार प्रसार तथा स्टेसनको उचित जानकारी नपाउनुका कारण केहीसमय यात्रु नपाउन सक्ने कोशी यातायत व्यावसायी तथा यात्रु सेवा प्रा.लि.का अध्यक्ष कृष्ण सुवेदीको भनाइ छ । यसका अलावा रुटको उचित व्यवस्थापन, सडकको स्तर र सुरक्षा तथा समयसीमाका कारण केही चुनौतीहरू आउन सक्ने उनको धारण रहेको छ ।

अन्यथा व्यावसायिक हिसाबले साना यातायतका कारण खासै चुनौती नहुने उनको भनाइ छ । उनी भन्छन् ‘पहिला चन्दा आतङ्क, भनेको ठाउँमा नरोकी दिए ढुङ्गा हान्ने र नगरबस सञ्चालन भएपछि केही मात्रमा साना यातायात व्यावसायीहरूलाई फरक पर्न जान्छ नै । त्यसले निम्त्याउने सुरक्षा चुनौती पहिला पनि थियो अहिलो पनि हुन सक्छ । तर, यात्रु पर्याप्त छन् ।

dharan 1