धरान/पृथ्वी–लक्ष्मी मेमोरियल ट्रष्टले खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । भदौं ६ र ७ गते धरानको अमर सेवा समाज बहुउद्देश्यीय भवनमा ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो ।

सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ६४ समूह खेलाडीहरू सहभागी बन्ने छन् । प्रतियोगितामा सिनियर डबल्स, राइजिङ डबल्स र भेट्रान डबल्स खेलाइने भएको छ । प्रत्येक इभेन्ट्समा ८ जनाको समूह गरी कूल ६४ समूह रहने छन् । भेट्रानतर्फ भने ५० वर्षमाथि रहने ट्रष्टका उपाध्यक्ष किशोर राईले आइतबारको पत्रकार सम्मेलनमा बताए । सिनियर डबल्सको विजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी पाउने छ । त्यस्तै दोस्रोले १५ हजार र तेस्रोले जनही ८–८ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै बेष्ट प्लेयरले नगद २५ सय रुपैयाँ पाउने छ ।

भेट्रान डबल्सको विजेताले नगद १२ हजार, दोस्रोले ६ हजार र तेस्रोले जनही ३–३ हजार रुपैयाँ प्राप्त गर्दा बेष्ट प्लेयरले नगद २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै राइजिङ डबल्सको विजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी पाउने छ । त्यस्तै दोस्रोले नगद ५ हजार रुपैयाँ र तेस्रोले जनही नगद ३–३ हजार रुपैयाँ पाउने छन् । राइजिङतर्फको बेृष्ट प्लेयरले भने नगद १ हजार ५ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्षसमेत रहेका राईको आमाबुबाको नामबाट ट्रष्ट निर्माण गरिएको हो । खोटाङ रतन्छामा जन्मिएका पृथ्वीबहादुर र लक्ष्मी राईको नामबाट ट्रष्ट निर्माण गरिएको हो । ट्रष्ट निर्माणमा ४ छोरा विदुर राई, किरण राई, किशोर राई, विक्रम राई र दुई बहिनी अमृता र कला राईले भूमिका खेलेका छन् । २०७३ सालमा निर्माण भएको ट्रष्टले यसअघि धरान उपमहानगर कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता गराइसकेको अध्यक्ष विदुर राईले बताए ।