विराटनगर/ सर्वसाधारणको १० करोड रुपैयाँभन्दा बढी लिएर मोरङको बेलबारी बजारका एक व्यापारी सम्पर्कविहीन भएका छन् ।

बेलबारीको फिल्म हल लाइनमा ओमकृष्ण सुनचाँदी एवम् हार्डवेयर सञ्चालन गर्ने व्यापारी तथा जग्गा कारोबारी गर्ने घनश्याम श्रेष्ठ करिब एक सयजना सर्वसाधारणको पैसा लिएर सम्पर्कविहीन भएका हुन् ।

ठगीमा पर्नेमा प्रतिष्ठितदेखि सामान्य जीवनयापन गर्नेसम्म छन् । सबैभन्दा बढी जग्गा दिने र फ्याक्ट्री खोलेर शेयर दिने बहानामा व्यापारी श्रेष्ठले ठगी गरेको पीडितहरूको भनाइ छ । सुन पसलमा आउने ग्राहकहरूसँग आकर्षक ब्याज दिने भन्दै दुई वर्षदेखि धितोमा राखेको र बचत गरेको पैसा उठाएर ठगी गर्दै आएका उनी एक महिनादेखि सम्पर्कविहीन छन् । बेलबारीमा श्रेष्ठको सुन–चाँदी र हार्डवेयर पसल थियो । दुवै पसल बन्द गरेरे श्रेष्ठ अहिले सम्पर्कविहीन भएका हुन् । जग्गा दिने र उद्योग खोलेर शेयर सदस्य बनाउने भन्दै रकम उठाएर श्रेष्ठ फरार भएको पीडितहरूको गुनासो छ ।

बेलबारी–१ की कृष्णा भण्डारीले घडेरी किन्नका लागि ८ लाख २० हजार रुपैयाँ एक वर्षअघि दिएको बताइन् । ‘पछि घडेरी नदिएपछि पैसा फिर्ता मागेको थिएँ’ उनले भनिन्, ‘अहिलेसम्म दुई लाख ६० हजार रुपैयाँ पाउन सकेको छैन ।’ चेक दिए पनि बाउन्स रहेको उनको भनाइ छ । दिन बाँकी पैसाको भर्पाइ गरेर छोरा आयुत श्रेष्ठको नाममा रहेको एनएमबी बैङ्कको चेक दिएर आफूलाई पठाएको भण्डारीले बताइन् ।

स्थानीय चन्द्रबहादुर गुरुङले इनामेलको फ्याक्ट्री खोल्ने भन्दै बाँझो जग्गा देखाएर आफूसँग ८ लाख रुपैयाँ लिएको बताए । ‘फ्याक्ट्रीको डिलर दिने भनेर मसँग अग्रिम भुक्तानी लगेका हुन्’ उनले भने, ‘एक वर्षसम्म केही नगरेपछि पैसा फिर्ता माग्दा उनी बेपत्ता भए ।’

एक जनासँग ५० हजारदेखि ४२ लाख रुपैयाँसम्म उठाएर श्रेष्ठ फरार भएका हुन् । पीडितहरू कहिले प्रहरी र कहिले जिल्ला प्रशासन कार्यालय धाउने गरिरहेका छन् । पीडितहरूले ठगिएको रकम फिर्ता गराइदिन माग गर्दै जनप्रतिनिधिहरूलाई पनि गुहार्ने गरेका छन् । उनीहरूले अहिले सङ्घर्ष समिति गठन गरेर डुबेको पैसा फिर्ता गराउन हारगुहार गरिरहेका छन् ।

सङ्घर्ष समितिका अध्यक्ष मातृकाप्रसाद पराजुलीले ठगीमा पर्नेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको बताए । ‘हामीसँग विभिन्न बहानामा ठगी गरेको पर्याप्त प्रमाणहरू छन्’ उनले भने, ‘त्यो प्रमाण लिएर विभिन्न ठाउँमा गए पनि कहीँबाट सहयोगको आश्वासन भने पाउन सकेनौं ।’ पराजुलीले आफूबाट भर्पाइ नै गरेर २० लाख रुपैयाँ लिएको श्रेष्ठले लिएको बताए ।

सुन्दरहरैंचा नगरपालिकाकी तुलसा प्रसाईंले ३५ लाख र बेलबारीकी सरस्वती दाहालले ४१ लाख १६ हजार आफूहरूबाट लिएर गएको बताए । पराजुलीले निक्कै लामो समयदेखि पसल नै बन्द गरेर श्रेष्ठ भागेपछि आफूहरू ठगिएको थाहा भएको बताए ।

उनका अनुसार श्रेष्ठलाई सम्पर्कमा ल्याएर आफूहरूको पैसा फिर्ता गर्न माग गर्दै उद्योग वाणिज्य सङ्घ बेलबारीमा पनि निवेदन दिइएको छ । श्रेष्ठले एनएमबीलगायतका बैङ्कबाट पनि ऋण लिएको देखिएको पराजुलीको भनाइ छ । उनले पीडितहरूलाई सामाजिक सञ्जालमार्फत् श्रेष्ठले प्रहरीलगायतका निकायमा खबर नगर्न चेतावनी भने दिइरहेको बताए ।

मोरङका प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउँजुले पीडितले जाहेरी दिए ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई सजिलो हुने बताए । ‘लेनदेन घटना प्रहरीले हेर्दैन’ उनले भने, ‘ठगी गरेको हो भने प्रहरीले अनुसन्धानको दायरामा ल्याउनेछ ।’ सम्पर्कविहीन भएका श्रेष्ठ भारतर्फ फरार भएको हुनसक्ने आशङ्का गरिएको छ ।

क्याप्सन् ः सम्र्पकविहीन भएका व्यापारी घनश्याम श्रेष्ठ ।