धरान/ प्रतिबन्धित कीटनाशक विषादी बिएचसी बेञ्जेन हेक्साक्लोराइडको अवशेष फेला परेको आलु कहाँको होला ? धरानको भानु सब्जी बजारमा खुद्रा बिक्रीका लागि राखिएको आलुमा बिएचसीको अवशेष पाएपछि सबैलाई खुल्दुली लागेको छ ।

नेपाल सरकारले ०५८ सालमै बिएचसीलाई पूर्णरूपमा प्रतिबन्ध लगाइसकेको अवस्थामा नेपाली कृषकहरूले आलु उत्पादन गर्दा कीटनाशकको रूपमा प्रयोग गर्न पाउँदैनन् । धरान उपमहानगरपालिकाले स्थानीय उपभोक्ताहरूले दैनिक उपभोग गर्ने सागसब्जी, फलफूललगायत तरकारीमा विषादी भए नभएको बारे वैज्ञानिक परीक्षण गर्न फोरम फर हेल्थ रिसर्च एण्ड डेभलपमेण्ट (एफएचआरडी) लाई जिम्मा दिएपछि परीक्षण गर्दा बिएचसीको अवशेष फेला परेकोले उपभोक्तामा खुल्दुली बढेको हो ।

एफएचआरडीले हिउँदे तरकारीमध्ये आलु, टमाटर, काँक्रा, रायो साग, धनियाँ, बोडी, तोरी सागको नमूना परीक्षण गरेको थियो । तीमध्ये उक्त समय उत्पादन हुने आलुमा घातक विषादीको मात्राको अवशेष फेला परेको रिपोर्ट सार्वजनिक भएपछि भारतीय बजारबाट आयातित आलु हो कि नेपालमै उत्पादित आलुमा विषादी भेटिएको हो, यकिन भने हुन सकेको छैन ।

धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार फागुन, चैतमा धरानको बजारमा देखिने आलुमध्ये १० प्रतिशत धनकुटाको सिँधुवा र सुनसरीको हरिनगर, कप्तानगञ्जमा उत्पादन हुन्छन् । बाँकी भारतीय आलु आयात गरिन्छ ।

विषादी परीक्षण गर्ने एफएचआरडी संस्थाका अध्यक्षसमेत रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभागका प्रमुख धीरेन लिम्बूका अनुसार फलफूल र तरकारीमा हुने विषादी परीक्षण गर्दा भानुचोकस्थित सब्जीबजारमा राखिएको आलुमा बिएचसीको अवशेष फेला परेको हो ।

नेपाल सरकारले दुई दशकअघि नै प्रतिबन्ध लगाएकाले नेपाली कृषकहरूले उक्त विषादी प्रयोगमा ल्याउन नसक्ने लिम्बूले बताए । उनले भने, ‘नेपालमै उत्पादन भएका आलुमा बिएचसी विषादीको अवशेष फेला परे पनि सायद दुई दशकअघि प्रयोगमा ल्याइएको माटोमा फलेको आलुमा त्यसको अवशेष देखिएको हुनसक्छ ।’

उनका अनुसार कीटनाशक विषादीको रूपमा एकपटक प्रयोग गरेपछि पनि २० वर्षदेखि ५० वर्षसम्म माटोमा रहिरहने भएकाले सरकारले १८ वर्षअघि नै बिएचसीमाथि पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो । धरानमा बिक्री गर्न राखिएको आलुमा बिएचसी फेला परे पनि अवशेषमात्र देखिएकाले मानवीय स्वास्थ्यमा त्यसले असर नपु¥याउने गरी कम मात्रामा फेला परेको उनले बताए ।

आलुमा प्रतिबन्धित बिएचसी विषादिको अवशेष फेला परे पनि धरान र कोशी करिडोर आसपास उत्पादित फलफूल एवम् तरकारीमा प्रतिबन्धित विषादी प्रयोग गरेको नपाइएको लिम्बूले बताए । करिब सातमहिना लगाएर गरिएको परीक्षणमा सरकारले खुला गरेको विषादी पनि नगण्य मात्रामा फेला परेको उनले बताए ।

उनले भने, ‘परीक्षण गर्दा कोशी करिडोर र धरान आसपासका कृषकहरूले विषादी खासै प्रयोग गरेको देखिएन । धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायत पहाडी जिल्लासँगै धरान आसपासका क्षेत्रहरू पानवारी, ठिङ्गाबारी, विष्णुपादुकालगायतमा उत्पादित फलफूल तथा तरकारी सागसब्जीमा विषादी नपाइएकाले ढुक्कले खान सकिन्छ ।’

स्थलगत अध्ययनमा फगिङसाइड र हबिसाइड बढी मात्रामा प्रयोग हुने भए पनि विषादी ऐन २०४८ ले तोकेका विषादीहरू नै प्रयोग भइरहेको उनले बताए ।