इटहरी/ व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ६ लेनको सडक विस्तार आयोजनाको काम पुनः रोकिएको छ ।

वर्षाको कारण देखाउँदै सडक विस्तार आयोजनाको काम रोकिन पुग्दा ६ लेन सडक भद्रगोल अवस्थामा पुगेको हो । विराटनगरको रानीदेखि सुनसरीको इटहरीको सडक ६ लेनमा विस्तार गर्न विभिन्न प्याकेजमा काम भइरहेको थियो ।

तर वर्षाको कारण देखाउँदै असारदेखि काम अगाडि नबढ्दा सडक लथालिङ्ग अवस्थामा रहेको छ । इटहरी–२ आँपगाछीका व्यापारी टङ्क दाहालले सडकको अवस्था लथालिङ्ग हुँदा दैनिकजसो दुर्घटना हुने गरेको बताए । अहिले बनिसकेको पिच पनि भत्कन थालेको भन्दै यस विषयमा आयोजनाको लापरबाही बढ्दो रहेको उनको भनाइ छ ।

पानी आउँदा हिलाम्मे र नआउँदा धुलाम्मे सडकको कारण व्यापारी तथा सडक आसपासका सर्वसाधारणलाई सास्ती भएको स्थानीयले बताए । ६ लेन सडक आयोजना र ठेकेदारले चरम लापरबाही गरिरहेको इटहरी–२० तरहरा बरगाछीका होटल व्यवसायी ईश्वर गुरुङले बताए । भइरहेको काम एक्कासि रोकिएपछि अहिले होटलको कारोबारसमेत घटेको उनले बताए । बीचमा ल्यायर काम रोकिएपछि घरभाडासमेत तिर्न गाह्रो भएको उनले बताए ।

प्रदेश १ को मेरुदण्डको रूपमा विकास गर्न खोजिएको भारत र चीन जोड्ने कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक योजना विस्तारको काम सरकारी बेवास्ताका कारण समस्या भएको व्यवसायीहरूले बताए । तरहरा आसपासका सेकुवा पसलहरूमा समस्या भएको व्यवसायीहरूले बताए । ‘करिब दुई महिनादेखि काम भएको देखिँदैन’ –तरहराका सुन व्यवसायी सन्तोष श्रेष्ठले भने । ठेकेदार कम्पनी र आयोजनाको लापरबाहीले स्थानीयलाई धुलोकै कारण रोग लाग्ने अवस्था भएको श्रेष्ठ बताउँछन् ।

निर्माण ठेकेदार कम्पनी आशिष निर्माण सेवाका इञ्जिनियर सागर बरालले काम ढिलो भएको स्वीकारे । यो महिना अलिक समस्या भयो, अपरेटरहरु टाढाबाट आउनु पर्ने भएको कारण यो महिना काम शुरु हुन नसकेको बरालको भनाइ छ । दिउँसो धुलो उड्ने समस्या भएको कारण केही समस्या आएको उनले स्वीकार गरे ।

‘हामी चाँडै काम शुरु गर्ने पक्षमा छौं’ –इञ्जिनियर बरालले भने । व्यापारिक मार्ग विस्तार आयोजना इटहरी कार्यालयका इञ्जिनियर रमेशकुमार गोइतले भने वर्षाको कारण काम रोकिएको बताए । ‘करिब एक महिनादेखि काम भएको छैन’ उनले भने, ‘हामी चाँडै पुनः काम शुरु गर्ने तरखरमा छौं, अहिले वर्षाको कारणले मात्र काम रोकिएको हो, यस्तो अवस्थामा सडक विस्तारको काममा समस्या भएको छ ।’ काम रोकिँदा सडकमा समस्या आएको भने उनले स्वीकारे ।

आ.व.०६९÷७० बाट विराटनगरको रानी हुँदै इटहरी र धरान जोड्ने मार्ग ६ लेनमा विस्तार गर्ने काम थालनी भएको थियो । कुल ४९ कि.मी. लामो सडक १० अर्ब ९८ करोडमा ठेक्का लागेको थियो । सुनसरीको तरहरादेखि धरान र सुनसरीको दुहबी बजारक्षेत्रको सडक विस्तारको ठेक्का भने अझै लाग्न सकेको छैन ।

मनपरी मापदण्ड
व्यापारिक मार्ग विस्तार आयोजनाका अनुसार विराटनगरको रानीदेखि इटहरी हुँदै धरानसम्म ६ लेनमा विस्तार गर्ने भनिए पनि यो सडक विस्तारका क्रममा मनपरी मापदण्ड तयार पारिएको छ ।

विस्तार गरिएको सडक केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर चौडाइमा ६ लेनमा विस्तार हुनुपर्ने मापदण्ड भए पनि विराटनगर र दुहबी क्षेत्रमा सडकको चौडाइ घटाइएको छ । सडक विस्तार भएका अन्य खण्डमा पनि सबै क्षेत्रमा यो मापदण्डलाई अवलम्बन गरेको पाइँदैन ।