भद्रपुर/ प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा सोमबार राती साढे १ बजे फरार भएका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडेर थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल रहेको जिल्ला डिएसपी महेन्द्रकुमा श्रेष्ठले जनाए । चोरीको आरोप लागेको विषयमा हिरासतमा राखेर प्रमाण जुटाउदै गरेको अवस्थामा फरार भएको उनले जनाए । डिउटीमा वसेको प्रहरी शौचालय गएको मौका पारेर उनिहरु भागेको उनको भनाइ छ ।

प्रहरीको निगरानी हुँदाहुँदै हिरासत कक्षकै ताला फोडी थुनुवा भागेपछि प्रहरीलाइ कडा कारबाही हुने उनले बताए । चोरेको मुद्दा सामान्य भएपनि थुनुवा भाग्नु गम्भिर भएकोले संलग्न प्रहरीमाथि प्रहरी कार्यालय झापाले घटनाको विषयमा अनुसन्धान सुरु गरेको उनले बताए । घट्नापछि दुवै भारतीय थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केहिदिन अघि लागू औषधसहित पक्राउ परेका इलामका २४ वर्षीय शङ्कर गजमेरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखि स्वास्थ्य परीक्षण गराउन अस्पताल लगिएको अवस्थामा त्यहीँबाटै फरार भएका थिए ।

त्यसैगरी एकबर्ष अघि साउन २७ गते कर्तव्य ज्यान मुद्दामा जन्म कैद भोग्दै आएका गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी कारागारको पर्खाल नाघेर दिउँसै फरार भएका थिए । उनले तात्कालिन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षिया बालिका करणी पश्चात हत्या गरेको अभियोगमा ०७१ असार ५ मा कारागार चलान भएका थिए ।