उदयपुर/ विदेश पुगेर घर फर्केका उदयपुरको हेमन्त भण्डारीले नमूना खरायो फार्मबाट नै राम्रो आम्दानी गर्दै आएका छन् । त्रियुगा नगरपालिका–९ रातमाटेका २८ वर्षीय भण्डारी करिब तीन वर्ष कतार बसेर गाउँ फर्केपछि नयाँ व्यवसाय शुुरु गरी राम्रो आम्दानी गर्दै आएको हो । भण्डारीले गत साउनमा रौतारानी नमूना खरायो फार्म दर्ता गरी २ लाख ५० हजार लगानीमा काठमाडांैबाट २२ वटा खरायो ल्याएर व्यावसाय शुरु गरेका छन् । गाउँमा मात्रै नभई जिल्लामै पहिलो र नयाँ खालको व्यावसाय शुरु गरेका उनी अहिले यसैबाट सन्तुष्ट बन्दै गएका छन् ।

विदेशमा पैसाकै लागि १६ घण्टासम्म काम गरेको भण्डारीले खरायो फर्ममा ४ घण्टा भन्दा बढी काम गर्नु नपर्ने बताउँछन् । उनले भने, ‘अहिले म लगानी मै छु । आफ्नै घरपरिवार सँगै छु । अनि यति आम्दानी गर्न विदेश जानु पर्दैन, यसमै सन्तुष्ट छु ।

काठमाडौं रिसर्च सेन्टरबाट सोवियत चिलचिला, अमेरिकन, क्यालियोफोर्वियन, हाफलाई गरी चार जातका खरायो ल्याएर व्यावसाय शुरु गरेका छन् । अहिले फर्ममा करिब माउ बच्चा गरी २ सय ५० वटा खरायो रहेका छन् । गाउँघरमा मात्रै नभई शहर बजारमा पनि अधिकांश मानिसलाई खरायोको मासु भन्दा अनौठो मान्ने गरेको उनले बताए ।

खरायोले बच्चा जन्माएको ५ महिनादेखि खान योग्य हुन्छ । त्यतिबेलासम्म करिब २ केजी तौल हुन जरुरी रहेको युवा उद्यमी भण्डारी बताउँछन् । खरायोको मासु मात्रै नभई त्यसको छाला, पिसाबसमेत बिक्री हुने उनी बताउँछन् । स्वास्थ्यको लागि लाभदायक भए पनि जनचेतनाको कमीले गर्दा खरायोको मासु प्रयोगमा कर्म आउने गरेको छ ।

खरायोको मासु सबै खाले बिरामीले खान मिल्ने र कतिपय बिरामीलाई त औषधीको रूपमा पनि काम गर्ने चिकित्सकहरू बताउँछन् । खरायोको मासु खानाले बालबालिकामा कुपोषण नहुने तथा दम, मुटु, कलेजो, फोक्सो, सुगर, हाडजोर्नी लगायतका बिरामीलाई लाभदायक हुने चिकित्सकहरूले आफूलाई जानकारी दिएको बताउँछन् ।

खरायोको मासुमा बोसोको मात्रा हुँदैन । यसलाई ह्वाइटमिट भनेर पनि चिनिन्छ । अहिले बजारमा मासुको माग धेरै बढेको उनी बताउँछन् । तर, भने जति उत्पादन गर्न नसकेको उनले बताए । बिरामी मात्रै नभई नयाँ स्वादका लागि पनि बजारमा खरायोको मासुको माग बढेको छ । हप्तामा ५ वटा खरायो काट्ने गरेको र त्यसको १० केजी बजारमा पठाउने गरेको भण्डारीले बताए ।

अहिलेको बजार मूल्य प्रति केजी ९ सय रुपैयाँ रहेको उनले बताए । छाला प्रशोधन गरेर ज्याकेट, टोपीलगायतमा प्रयोग गर्न सकिने उनले बताए । प्रशोधन केन्द्रको अभावमा त्यसै खेर फाल्नु पर्ने भण्डारीले बताए । खरायोको पिसाब अन्न बालिमा लाग्ने किरा फट्याङ्ग्रालाई विषादीको रूपमा प्रयोग सकिन्छ । यसको प्रति लिटर अहिले १ सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए ।

उनले फर्मलाई खरायो अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने सोच रहेको बताए । आफ्नै ठउँमा आफ्नै पौरखले केही गर्न चाहे गर्न सकिने भएकाले २५÷३० हजारको लागि विदेश जानु नुपर्ने भण्डारीले बताए । युवायुवतीहरू विदेश जाने एउटा प्रचलन नै रहेकाले यस्ता युवा शक्तिलाई विभिन्न व्यवसायमा हातेमालो गरेर व्यवस्थापन गर्न सके राम्रो हुने उनले बताए ।

Bides-vnda-ramro-kharay