धनकुटा/ शहीदभूमि गाउँपालिका–६ सुकेआहालवासीले ६ घण्टा पालो कुरेर पानी भर्ने गरेका छन् ।

करिब ७० घरपरिवार रहेको सुकेआहालवासी एक गाग्रो पानीका लागि ६ घण्टा कुर्ने गरेका हुन् । चुनावको बेला जनप्रतिनिधिहरूले घर–घरमा शुद्ध खानेपानी ल्याउने भनी गरेको वाचा अहिलेसम्म पूरा भएको छैन । सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराले सुकेआहालवासीलाई गिज्याए झैं लाग्छ । सुकेआहालवासी लोककुमारी राईले एक गाग्री पानीका लागि ६ घण्टा कुर्नुपर्ने बताइन् । पानी थाप्नको लागि सुकेआहालमा २ वटा केन्द्र तोकिएको छ । २ वटा केन्द्रमा ६–६ घण्टाको अन्तर पारेर पालैपालो गाउँले पानी थाप्नु पर्ने उनले बताइन् ।

एउटा केन्द्र सुकेआहाल बजारमै छ भने अर्को केन्द्र बजारभन्दा केही वर गाउँको बीचमा छ । बजारमा भएको केन्द्रमा २५ देखि ३० घरले पानी थाप्ने गरेका छन् भने गाउँको बीचमा रहेको चोकमा भने १५ देखि २० घरले पानी थाप्ने गरेका छन् । अहिले आउने गरेको खानेपानीको धारा भने साविक आँखीसल्ला गाविसले सञ्चालनमा ल्याएको पाख्र्रीबास नगरपालिका–९ चुङ्वाङ मगर गाउँस्थित छेडी खोलाको मुहान हो । करिब ३–४ किलोमिटरको दूरीमा रहेको त्यो मुहानको पानी पनि हिउँदमा खडेरीले सुक्ने र वर्षामा पहिरोले गर्दा बिग्रिरहने गरेको लोककुमारीले बताइन् ।

कारणवश मगर गाउँको पानी आएन भने २ घण्टा समय लाग्ने खुदु्रकी खोला, माम्फिङ खोला र अँधेरी खोलाबाट डोकोमा पानी बोकेर खानुपर्ने बाध्यता रहेको पानी थाप्न २ घण्टादेखि पालो कुरिरहेकी निस्मा राईले बताइन् । राईले भनिन्, ‘वल्लो केन्द्रमा हरेक दिन बिहान ६ बजेदेखि १२ बजेसम्म र पल्लो केन्द्रमा १२ बजेदेखि साँझ ६ बजेसम्म पालैपालो पानी थाप्ने गरेका छौं ।’ पानी थाप्न भनेर अघिल्लो दिन साँझ नै गाग्रो, ग्यालेन, बाल्टीलगायतका सामग्री लाइनमा राख्नुपर्ने गरेको उनी बताउँछिन् । पानीको पालो पर्खनको लागि विद्यालय जाने बालबालिकाहरूसमेत बिहानभर पानी थाप्न पालो कुरेर बस्ने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘नागरिकलाई खानेपानी त खुवाउन नसक्ने सरकारले के समृद्धि र सुखी नेपालीको नारा दिनु ?’

सुकेआहालकै कुम्भबहादुर राईले वर्र्षौंदेखि गाउँभरिका मान्छेले एउटै धारामा पानी खानुपरेको पीडा सुनाए । उनले पानीको स्रोत नभएपछि वर्र्षौंअघि खानेपानी सुपरीवेक्षण कार्यालयले सञ्चालनमा ल्याएको छिडीखोलाको पानीले जीवन धानिरहेको बताए । राईले पानी नहुँदा वस्तुभाउ पाल्न र मौसमअनुसारको खेती गर्न नसकेको गुनासो गरे । ‘शौचालय जान पनि खानेपानीकै भर पर्नुपर्छ, पाहुनापात आउँदा ठूलै आपत् आइलाग्छ’ –उनले भने ।

शहीदभूमि गाउँपालिका–६ का वडाध्यक्ष हेमकुमार राईले वडामा खानेपानीको ठूलै समस्या रहेको सुनाए । खानेपानीको स्रोत नजिक नहुँदा स्थानीयले पानीको लागि घण्टौं कुर्नुपर्ने बाध्यता रहेको बताए । वडाध्यक्ष राईले सुकेआहाल र आसपासका करिब ६०–७० घरधुरीको लागि पानीको दिगो व्यवस्थापन गर्न बजेट नभएको बताए । राईले धनकुटा नगरपालिका–९ मा पर्ने अँधेरी खोलाबाट पानी पम्पिङ गरेर ल्याउनको लागि खानेपानी डिभिजन कार्यालय धनकुटाबाट योजना सञ्चालन भइरहेको बताए ।

खानेपानी डिभिजन कार्यालय धनकुटाका प्राविधिक पदमशेर राईका अनुसार सुकेआहालवासीको लागि खानेपानी डिभिजन कार्यालय धनकुटाले २६ लाख, ४६ हजार बराबरको खानेपानी योजना सञ्चालन गरिरहेको बताए । उनले सुकेआहालको लागि अँधेरीखोलामा इन्टेक निर्माण भइसकेको, मुहानदेखि १२ सय मिटरको उचाइमा पानी सङ्कलन गर्ने १४ घनमिटरको ट्याङ्की निर्माण भइसकेको र पाइप पनि विस्तार गरेको उनले बताए । राईका अनुसार पानी सङ्कलन गर्न ट्याङ्की निर्माण गरिएको स्थलदेखि सुकेआहाल आइपुग्न करिब १२ देखि १५ मिटरको दूरी पर्ने बताए ।

सो दूरीमा भने हाल कुनै पनि काम शुरु भएको छैन । पम्पमार्फत् पानी तान्नको लागि ट्रान्समिटर जडानलगायतका आवश्यक काम बाँकी रहेको उनले बताए । आ.व. ०७६/७७ सम्ममा सुकेआहालवासीले पानी खान पाउने हो कि भन्ने आशामा रहेको वडाध्यक्ष हेमकुमार राईको भनाइ छ । खानेपानी डिभिजन कार्यालय धनकुटाले सञ्चालनमा रहेको खानेपानी योजनाको लागि आ.व.०७६/७७ को बजेट सिलिङ आइनसकेको जानकारी दिएको छ ।