दमक/ दमकस्थित लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहोर मापदण्डविपरीत अस्पतालपरिसरमै जलाउने गरेको पाइएको छ ।

अस्पतालबाट निस्किएको फोहोर अस्पतालभित्रै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीय आन्दोलित बनेपछि उक्त भेद खुलेको हो । स्वास्थ्यसंस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० मा ‘अस्पतालबाट निष्कासन हुने सामान्य तथा चिकित्साजन्य फोहोरमैला प्रकृतिअनुसार स्रोतमै अलग–अलग छुट्याउने, सङ्कलन तथा उचित विसर्जन गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ’ भनिएको छ ।

फोहोरमैला व्यवस्थापन नियमावली २०७० मा स्वास्थ्यसंस्थाजन्य हानिकारक फोहरमैलाको निर्मलीकरण, प्रशोधन र व्यवस्थापन गरिनुपर्ने व्यवस्था भए पनि अस्पतालले उक्त मापदण्डविपरीत काम गरिरहेको पाइएको हो । वर्र्षौंदेखि अस्पतालबाट निस्किएको फोहोर जलाउँदै आएको स्थानीयको दाबी छ । फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा भाइरलको समस्या देखिएको स्थानीय शान्ता निरौलाले बताइन् । उनले भनिन्, ‘वर्षाैंदेखि यो अस्पतालले यसैगरी अस्पतालभित्रै फोहोर जलाउँदै आएको छ । यसले गर्दा बालबालिकामा भाइरलको समस्या देखिन थालेको छ ।’

अस्पतालले पश्चिमतर्फ रहेको खाली जमिनमा फोहोर जलाउने गरेको छ । फोहोर जलाउँदा धुवाँका कारण नजिकै घरमा समस्या उत्पादन भएको छ । बालबालिकामा श्वास–प्रश्वास, भाइरल ज्वरो, खोकी लाग्ने समस्या देखापरेको उनले बताइन् । अस्पताल परिसरभित्रै फोहोर जलाउने गरेपछि स्थानीयले अस्पतालका मेडिकल डाइरेक्टर डा. मुक्तिप्रसाद भट्टराईलाई फोहोर जलाउन बन्द नगरे अस्पताल घेराउ गर्ने चेतावनी दिए ।

अस्पतालले फोहोरमैला व्यवस्थापन गर्दा मर्करीयुक्त उपकरणको सट्टामा डिजिटालाइज्ड उपकरण प्रयोगमा ल्याउनुपर्ने निर्देशिकाले प्रष्ट भने पनि अस्पतालले आफ्नै खाली जमिनलाई डम्पिङ साइड बनाएको स्थानीयवासी जीवन विष्टले बताए । उनले भने, ‘आफूहरूले पटक–पटक अस्पतालबाट निस्किएको फोहोर जलाउनु हुँदैन भने पनि अस्पताल प्रशासनले स्थानीयको कुरा कुनै सुनुवाइ गरेको छैन ।’ तीन वर्षअघि नै अस्पतालबाट निस्कने फोहोर यसरी नजलाउन अस्पताल प्रशासनलाई भने पनि अस्पतालले नटेरेको अर्का स्थानीयवासी पुण्य पोखरेलले बताए ।

अस्पताल प्रशासनले भने संयोगवश यस्तो भएको भन्दै गैरजिम्मेवारपूर्वक उत्तर दिएको छ । मेडिकल डाइरेक्टर डा. भट्टराईले आफूहरूले नियतवश यस्तो नगरेको बताए । उनले भने, ‘कर्मचारीबाट यस्तो गल्ती भयो होला, नगरपालिकासँग समन्वय गरेर फोहोर तत्काल व्यवस्थापन गर्छाैं ।’