इटहरी/ केही दिन अगाडिमात्र को २३ प २७१६ नम्बरको मोटरसाइकललाई एनएल ०१०९१२ नम्बरको ग्यास ट्याङ्करले ठक्कर दियो । ठक्करबाट इटहरी ९ का पाण्डव गोस्वामीको बायाँ खुट्टामा चोट लाग्यो, सडककै कारण दुर्घटना भएको ट्राफिक प्रहरीले निष्कर्ष निकाल्यो ।

यो घट्ना प्रतिनिधि पात्रको मात्र हो । इटहरीको मुख्य हाइवेमा यतिबेला सवारी दुर्घटना बढ्दो छ । इटहरी यतिखेर खाल्डैखाल्डाको समस्याले आक्रान्त बनेको छ । अधिकांश सडकमा खाल्डाखुल्डी छन् पानी परेका बेला खाल्डोमा परी घाइते हुने सवारी चालक र यात्रुको सङ्ख्या पनि कम छैन । इटहरीको मुख्य चौक धरान लाइन हँुदै विराटनगर लाइनसम्मको अधिकांश सडकको उस्तै हविगत छ । ना ५ ख १८९१ नम्बरको गाडी चालक निर्मल मगरले इटहरी क्षेत्रमा गाडी कुदाउँनसमेत समस्या हुने गरेको गुनासो गरे ।

इटहरी उपमहानगर पालिका क्षेत्रका चौतर्फी सडकसँगै मुख्य राजमार्गका अधिकांश ठाउँमा खाल्डाखुल्डी परेको कारण दैनिक दुर्घटनाको जोखिम बढेको छ । सामान्य पानी पर्दा पनी सडक हिल्लामे हुने भएका कारण सडकमा समस्या भएको ना ४ ख ८४८६ नम्बरको ट्रक चालक इटहरी घर भएका भुवन सुनुवारले बताए । उनले भने,‘विराटनगर इटहरी सडक खण्डमा जहिल्यै त्रास हुने गरेको छ ।’

वर्षै पिच्छे सडक मर्मत हुन्छ अनि केही दिन बित्न नपाउँदै सडकको अवस्था दयनीय बन्दै जाने गरेको कारण वर्षैपिच्छे समस्या हुने गरेको इटहरीका व्यवसायी ध्रुव कार्की बताउँछन । उनी भन्छन् –प्रदेश एककै प्रमुख केन्द्रको अवस्था दयानीय हँुदै गएको उनी बताउँछन् । इटहरीको मुख्य चौक आसपासमै ठूलाठूला खाल्डाखुल्डीले गर्दा व्यवसायमा समेत असर परेको छ, कार्की भन्छन् ।

इटहरीको मुख्य चौकको अवस्था लथालिङ्ग भएको बताउँछन् उद्योग वाणिज्य सङ्घ इटहरीका पूर्व वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट । विष्ट भन्छन्, ‘इटहरीको मुख्य चौकसँगै धरान लाइन र विराटनगर लाइनको अवस्था कन्तबिजोक अवस्थामा भएको छ ।’ पानी पर्दा हिलो र घाम लाग्दा धुलोको कारण इटहरीबासी मात्र नभई यो बाटो हुँदै यात्रा गर्नेहरूको समेत बिजोक भएको उनको बुझाइ छ ।

होटल व्यवसायी सङ्घ इटहरीका निर्वतमान अध्यक्ष अनुरोध थापाले इटहरी चौकको हविगतले आम इटहरीबासीलाई गिज्जाइरहेको बताए । सडक विभागको मनपरी तन्त्रको कारण सडकको अवस्था नाजुक भएको थापाको भनाइ छ । बाटोमा हिंडिसक्नु छैन, धुलोको कारण सर्वसाधरणहरू आजित भए पनि सम्बन्धित पक्षले कुनै चासो देखाएको छैन, उनले भने ।

सवारी साधन तथा सर्वसाधरणलाई मात्र नभएर राजमार्गको अवस्था नै जीर्ण बन्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती रहेको प्रदेश १ ट्राफिक कार्यालयका इन्स्पेक्टर होमनाथ दाहालले बताए । दाहालले भने–‘इटहरीको हाईवे लथालिङ्ग अवस्थामा रहेको कारण ट्राफिक व्यस्थापनमा समेत समस्या भइरहेको छ ।’