धरान / सहकारीको करोडौ रकम सुनमा लगानी गरी लगानी डुबाएर फरार रहेका  धरानस्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विक पक्राउ परेका छन् ।

गत असार २३ गते देखि फरार रहेका विकलाई बुटवल उपमहानगरपालिकाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । विशेष सुराकीको आधारमा विशेष प्रहरी टोली खटाएर सोमबार राती पक्राउ गरिएको डिएसपी न्यौपानेले जानकारी दिए । उनी बुटवलको एउटा सटर कोठा भाडामा लिएर लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । बुधबार राती १ बजे विकलाई धरान ल्याइएको छ । आज २ बजे इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरि विकको कर्तुतबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।

विक फरार भए लगतै इलाका प्रहरी कार्यालय धरानमा ६५ जना पीडितले करिब ५ करोड ६८ लाख रुपैयाँ माग दाबीसहित उजुरी दिएका थिए । सहकारीका प्रबन्धक मोहन दर्नाल र लेखापाल कमलादेवी विकलाई यस अघि नै प्रहरीले पक्राउ गरेको थियो । दर्नाल छोरा र कमला उनीकी साली हुन । लेखापाल कृष्ण विकलाई भेट्न जानेक्रममा पक्राउ परेकी थिइन ।

बेपत्ता बनेकै समयमा उनको नाममा रहेको घर असार २७ गते १ करोड ५३ लाखमा पूर्व बाणिज्यमन्त्री तथा सांसद मीन विश्वकर्माकी सालीको नाममा नामसारी गरिए पछि थप संका गरिएको थियो । जनताको लगानी ढुवाएर आफ्नो दुनो सोझाएको आरोप लागेका मीन विश्वकर्माले नै कृष्ण विकलाई संरक्षण गरेर राखेको बचतकर्ताहरुले आरोप लगाएका थिए ।

राजनीतिक दलका नेताहरूको आडमा उनले गैरकानूनी काम गरेको पाइएको थियाे । शिखर सगरमाथा सुन–चाँदी पसल मीन विश्वकर्मा आफैले उद्घाटनसमेत गरेको बचतकर्ताहरू बताउँछन् । कृष्ण विकसँगको हरेक गतिविधिहरूमा सांसद् विकसमेत जोडिएकाले आफूहरूलाई अध्यक्षको संरक्षण उनैले गरेको बचतकर्ताहरूले आरोप लगाउँदै आएका छन् ।

बचतकर्ताहरूलाई पर्खाएर गत २३ असारदेखि कृष्ण विक फरार भएका थिए ।  यता असार २४ गते उनका छोरा मोहनले बाबु कृष्ण हराएकाले खोजतलास गरिपाउँ भनेर इलाका प्रहरी कार्यालय धरानमा निवेदनसमेत दिएका थिए । आफ्नै छोरा मोहन विकलाई प्रबन्धक राखेर कृष्णले सल्लेरीको बचतको पैसा शिखर सगरमाथा सुन–चाँदी पसलमा लगानी गरेको पाइएको छ । पासबुकमा सहकारीको नाममा चढाउने तर पैसा चाहिँ सुन पसलमा जम्मा गर्ने गरेको पाइएको छ । सुन–चाँदी पसलमा बस्ने उनका माइला छोरा महेश दर्नाल पनि हाल फरार रहेका छन् ।