भद्रपुर / रक्षाबन्धन बाधेका कारण दिइने दक्षिणाको सट्टामा सीमा क्षेत्रमा चेलीबेटी बेचबिखन रोक्न सुरक्षाकर्मीलाई भद्रपुरका मारवाडी महिलाहरुले अनुरोध गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरूको रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा भद्रपुर मारवाडी महिला तथा युवती मञ्चमा आबद्ध महिलाहरूले नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको नाडीमा राखी बाँधेर उनीहरूले यस्तो अनुरोध गरेका हुन् ।
रक्षाबन्धन कार्यक्रम पश्चात् राष्ट्रसेवक कर्मचारीले मारवाडी महिलाहरूलाई दक्षिणा दिन खोजेका थिए । तर, नगद दक्षिणा भन्दा पनि बढ्दो चेलीबेटी बेचबिखन रोकथाम तथा महिलामाथि हुने हिंसाजन्य घटना न्यूनीकरण गरिदिन आग्रह गरेका थिए ।
सीमा क्षेत्रबाट बढ्दो चेलीबेटी बेचबिखन रोकथाम तथा महिलामाथि हुने हिंसाजन्य घट्ना न्यूनीकरणको उद्देश्य राखेर झापाका मारवाडी समुदायका महिलाहरूले राष्ट्र सेवक कर्मचारीसँग रक्षाबन्धन मनाएको भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निक्की साहेवालाले बताइन् । मञ्चकी अध्यक्ष साहेवालाको नेतृत्वमा विहीबार विहान महिलाहरूको टोलीले वडा प्रहरी कार्यालय भद्रपुर परिसरमा वडामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई राखी बाँधेका थिए ।