काठमाडौं । केही दिन अघि आत्महत्या गरेका शालिकराम पुडाशैनीको विषयमा मुछिएका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनीसँगैं युवराज कँडेललाई पनि पक्राउ गरेको प्रहरी जनाएको छ ।

उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको छ । उनीहरुलाई पक्राउ गनुृ अघि कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएका छन् ।
काठमाडौं प्रहरी परिसरको सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी शालिकराम पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उनले बोलेका थिए ।

उनीहरूलाई आजै चितवन लगिँदै गरिएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार अभियोग प्रमाणित भएमा उनलाई ५ वर्षसम्मको जेल सजाय हुनेछ। आत्महत्या दुरुत्साहनको प्रावधानलाई नयाँ अपराध संहिता २०७४ ले समेटेको छ। सामान्यतः फौजदारी आरोपमा पक्राउ गरिसकेपछि २४ घण्टाभित्र अदालतको म्याद लिई न्यायिक हिरासतमा राखिसक्नुपर्छ।