धरान/ धरान उपमहानगरपालिकाद्वारा सञ्चालित धरान खानेपानी आयोजनाको प्रगति समीक्षाको जानकारी दिन बिहीबार बोलाइएको भेलामा नेकपा र अन्य दलबीच जुहारी चलेको छ । उद्योग वाणिज्य सङ्घको कार्यालयमा आयोजित भेलामा जुहारी चल्नुअघि आयोजना प्रमुख राजु पोखरेलले प्रगति विवरण सुनाएका थिए ।

जुहारी चल्नुअघि उनले खानेपानी आयोजनाको पछिल्लो प्रगति विवरण उल्लेख गर्दैै आयोजनाले लक्षित गरेको भौतिक उद्धेश्य १ करोड ९७ लाख २० हजार लिटर पानी उत्पादन कार्यमा शतप्रतिशतभन्दा बढी प्रगति हासिल गरेको बताए । उनले भने, ‘अब नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति र दायित्व हस्तान्तरण गरी संस्थान मातहत रहेका संरचना, सेवा र थप गरिएका संरचना तथा सेवाको एकीकरण गरी उपभोक्तालाई खानेपानी आपूर्ति गर्नुको कुनै विकल्प छैन ।’

आयोजनाले करिब आफ्नो काम सकिएको तर नेपाल खानेपानी संस्थानको सम्पत्ति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्न मात्र बाँकी रहेको बताए । उनले बिछ्याइएको कुल प्रमुख प्रसारण पाइपलाइन ९२ किलोमिटर ३ मिटर र वितरण पाइपलाइन ४ सय १५ किलो मिटर ५९ मिटर विस्तार गरेको बताए । आयोजनाको भौतिक र वित्तीय खर्चमा १ अर्ब ६५ करोड ३ लाख बराबरको कुल भौतिक प्रगति ९९ दशमलव ५ प्रतिशत र वित्तीय प्रगति ९२ दशमलव ९५ प्रतिशत पूरा भएको बताए ।

पोखरेलले आयोजनाले अझै ३१ स्थानमा कनेक्सन र ३ किलोमिटर वितरण पाइपलाइन विस्तार गर्न बाँकी रहेको बताए । उनले भने, ‘आयोजनाको डिजाइन र स्पेसिफिकेसनमा उल्लेख भएको पानीको प्रेसर र गुणस्तरअनुसारको नियमित पानी वितरण गर्ने भन्ने रहेको र नौ महिनाको परीक्षणकालभित्र सो अनुसारको पानी पूर्णरूपमा वितरण गरिनेछ ।’ उनले आयोजनाको डिपिआर स्पेसिफिकेसनमा उल्लेख भएअनुसारको प्राविधिक र भौतिक परीक्षण गरेपछि मात्र निर्माणको जिम्मेवारी लिएको कम्पनीबाट आयोजना हस्तान्तरणको जिम्मेवारी लिई व्यवस्थापन कार्य धरान खानेपानी बोर्डले गर्ने सम्झौता छ ।

संस्थानको सम्पत्ति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तर गर्ने शर्तमा एशियाली विकास बैङ्कले एकीकृत शहरी विकास परियोजना अन्तर्गतको धरानमा खानेपानी आयोजनाका लागि सन् २०१२ मा २२ दशमलव ७ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान दिएको थियो । सोही शर्तअनुसार मन्त्रिपरिषद्ले संस्थानको सम्पत्ति र दायित्व बोर्डमा हस्तान्तरण गर्ने निर्णय पारित गर्दै गतवर्ष नै राजपत्रमा प्रकाशितसमेत गरेको थियो । संस्थानको सम्पत्ति र दायित्व पनि खानेपानी मन्त्रालय, एकीकृत शहरी विकास आयोजना संस्थानका मुल्याङ्कन समितिले मुल्याङ्कन गरेका थिए ।

आयोजना शुरु भएसँगै अनेक विवाद हुँदै आउँदा तोकिएको समयभन्दा दुईवर्ष ढिलो भएको पोखरेलले बताए । उनले संस्थानको सम्पत्ति र दायित्व हस्तान्तरण हुन नसकेकाले सन् २०१९ को ३१ डिसेम्बरसम्म आयोजना अवधि रहेको बताए । ठेकेदार कम्पनी तियाञ्जीन तुदी जेभीले उक्त समयभित्रमा सम्झौताअनुसार पानी वितरण गर्न नसके धरान खानेपानी व्यवस्थापन बोर्डले जिम्मा नलिने भएकाले कम्पनी नै जवाफदेही हुनुपर्ने भएकाले बोर्ड र धरान उपमहानगरपालिकाप्रति शङ्का नगर्न आग्रह गरे ।

पोखरेलले आयोजनाको प्रगति विवरण सुनाइसकेपछि भेलामा नेपाली काङ्ग्रेस धरान नगरसमितिका अध्यक्ष तिलक राईले आफूहरूले खानेपानी आयोजनाको विरोध नगरेर खबरदारी मात्र गरेको बताए । उनले भने, ‘केहीगरी आयोजना विफल भएमा कसले जिम्मा लिन्छ ? कम्तिमा अहिले खानेपानी संस्थान छ । त्यसले पनि पानी खुवाउँदै छ । आयोजना विफल भएमा संस्थानको दायित्व उपभोक्तालाई पानी खुवाउनु पर्ने हुन्छ । त्यसैले हामीले आयोजना सफल नभएसम्म संस्थानलाई बोर्डमा हस्तान्तरण नगरौं भन्ने हो ।’

नेकपाका युवानेता चोत्लुङले धरानको मुख्य समस्या खानेपानी रहेकाले विवादमा अल्झिरहनुभन्दा संस्थानको सम्पत्ति र दायित्व तत्काल हस्तान्तरण प्रक्रिया अगाडि बढाउनु उचित हुने बताए । उनले भने, ‘संस्थानले आनाकानी गरे बोर्ड र नगरबासीले हस्तक्षेपकारी नीति पनि अवलम्बन गर्नु जरुरी छ ।’

उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले संस्थान र आयोजना एक नभएसम्म नगरबासीले शुद्ध पानी पर्याप्त मात्रामा नपाउने अवस्था रहेको बताइन् । उनले आयोजनाको डिपिआर डिजाइनअनुसार ठेकेदार कम्पनीले पानी वितरण गर्न नसकेको अवस्थामा आयोजना फेल भएको भन्न सकिन्छ तर अहिले त निर्माणाधीन छ । अवधि सकिन अझै बाँकी छ ।’

नेकपाका पदम इस्वोले सबैले धरानमा खानेपानी आयोजनाको जरुरी छ भन्ने तर एउटा पार्टीले खानेपानी आयोजनाको नेतृत्व गर्दा मङ्सिर १४ गते धरानमा मेयरको चुनावलाई लक्षित गरेर घुमाउरो शैलीमा विरोध गर्ने संस्कार बसेको बताए । उनले आयोजना कुनै एनजिओले सञ्चालन नगरेर नेपाल सरकारले सञ्चालन गरेको र त्यो धरानको उपभोक्ताको लागि गरेको बताए । उनले भने, ‘आयोजनाका लागि सरकारले २ अर्ब रुपैयाँ खर्च गरिसकेको अवस्था छ ।

पानी वितरणको परीक्षण भइरहेको छ । चुनावलाई लक्षित गरेर असफल भयो भनेर भ्रम छर्ने ? खानेपानीको विषयमा धरानबासीले यो आयोजना कुनै पनि हालतमा असफल हुन दिँदैन र सबै दलको साझा एजेण्डा पनि यही हुनु पर्छ ।’ उनले आयोजनामा भ्रष्टाचार भए कहाँ भएको हो, त्यो किटान गर्नुपर्ने बताए ।

पूर्व उपमेयर कृष्णनारायण पलिखेले संस्थानलाई बोर्डमा ल्याए त्यसको परिणाम प्रत्युत्पादक हुने चेतावनी दिए । उनले आयोजना अल्पकालीन कि दीर्घकालीन के हो स्पष्ट नपारेको बताए । उनले भने, ‘खानेपानी आयोजनाको विरोध कसैले गरेका छैनन् । आयोजनाले कति वडालाई पानी खुवाउने र संस्थानले कति वडालाई पानी खुवाउने त्यो क्षेत्र विभाजन गर्नु जरुरी छ ।’

पूर्व प्रमुख कुमारबहादुर कार्कीले राम्रो काम गर्दा त्यसको विरोध हुँदैमा आत्तिनु जरुरी नभएको बताए । अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङले समितिलाई आयोजनाले अनुगमन गर्ने वातावरण नबनाइदिएको बताए । उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मोहनकाजी शाक्यले जसरी पनि धरानबासीले शुद्धपानी उपयोग गर्न पाउनु पर्ने बताए । उक्त अवसरमा संस्थानको सम्पत्ति र दायित्व बोर्डमा हस्तान्तरण गर्न नहुने भन्दै नेपाली काङ्ग्रेस, समाजवादी पार्टी, मङ्गोल नेसनल पार्टी, लिम्बुवानलगायतले ज्ञापन–पत्रसमेत बुझाएका थिए ।