इटहरी/ धरानपछि इटहरी क्षेत्रमा डेङ्गु सङ्क्रमण फैलिएको छ । इटहरी आसपासको क्षेत्रमा डेङ्गुका बिरामीको सङ्ख्या बढेको छ । डेङ्गु नियन्त्रण गर्न धुवाँ फाल्ने काम सकारात्मक नभएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले इटहरी उपमहानगरपालिकालाई जानकारी गराएका छन् ।

पछिल्लो समय विभिन्न सामाजिक संस्थाहरूले समेत डेङ्गुबारे सचेतना जनाउन थालेका छन् । तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने फगिङ मेसिनले धुवाँ फाल्दैमा डेङ्गु नियन्त्रण नहुने बताएका हुन् । रोग नियन्त्रणबारे छलफल कार्यक्रममा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक लालले भने, ‘धुवाँ फाल्ने कार्यले डेङ्गु नियन्त्रणमा सकारात्मक प्रभाव पर्दैन, धुवाँले समाजका ज्येष्ठ नागरिक र बालबच्चालाई नकारात्मक असर पर्छ ।’ डा. लाल भन्छन्, ‘रोग नियन्त्रणमा खोज र नष्ट गर (सर्च एण्ड डिस्ट्रोए) विधि नै प्रभावकारी हो । हामीले अहिले रोग नियन्त्रण हुन्छ भन्दै चालेको कदम गलत छ ।’

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले डेङ्गु नियन्त्रणमा फगिङ उपयुक्त नरहेको बताइन् । तर अहिले धुवाँ फाल्न राजनीतिक दबाव तीव्र रहेको उनको भनाइ थियो । डेङ्गु फैलिसकेपछि नियन्त्रण हुन समय लाग्ने भएकाले संयमित रहन पनि उनको आग्रह थियो । मन्त्रालयले डेङ्गु नियन्त्रणको लागि आवश्यक कदम चालिरहेको उनको भनाइ थियो ।

डाक्टर सुरेश मेहताले खोज र नष्ट गर्नुका साथै लेजिस्लेटिभ कन्ट्रोल प्रभावकारी बताए । डेङ्गुको सङ्क्रमण देखिएपछि जमेको पानी हटाउने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । घर वरपर पानी जम्न नदिनु डेङ्गुबाट जोगिने प्रभावकारी उपाय हो । यसका लागि व्यक्ति र समुदाय नै जागरुक हुनुपर्ने उनी बताउँछन् ।

इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले इटहरीमा डेङ्गु नियन्त्रणका सबै कार्यमा उपमहानगर प्रतिबद्ध रहेको बताएका थिए । इटहरीमा पछिल्लो समयमा डेङ्गु सङ्क्रमण बढेको कारण सचेत रहन नगरवासीलाई आग्रह पनि गरे ।

उपमेयर लक्ष्मी गौतमले जे गर्दा नियन्त्रण हुँदैन, त्यही अर्थात् धुवाँ उडाउन जनस्तरबाट माग आउने गरेको बताइन् । धुवाँ उडाउन आफूहरूलाई आएको मागअनुसार नियन्त्रणको प्रयास गर्दै आएको उनको भनाइ थियो ।

इटहरी–६ का वडाध्यक्ष दीपक गौतमले स्थानीय तहमा स्वास्थ्यसम्बन्धी अधिकार आए पनि दक्ष जनशक्ति भने सङ्घीय सरकारसँग रहेकाले डेङ्गु नियन्त्रणमा समस्या भइरहेको बताए । इटहरी उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणको लागि पहल गरिरहेको उनको भनाइ थियो ।

डेङ्गुका बिरामीलाई १५ हजार दिने
पछिल्लो समय डेङ्गुको महामारी फैलिएको भन्दै सुन्दरहरैंचा नगरपालिकाले नगरबासीलाई १५ हजार दिने भएको छ । डेङ्गुका बिरामीलाई उपचार गर्न सहज होस् भनेर नगरबासीलाई १५ हजार दिने निर्णय गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका बिरामीलाई उपचारमा समस्या हुने भन्दै सुन्दरहरैंचा नगरपालिकाले १५ हजार बिरामीलाई दिने निर्णय गरेको मेयर शिव ढकालले बताए । ‘आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा समस्या नहोस् भनेर १५ हजार दिने निर्णय गरेका हौं’–उनले भने ।

धरानमा देखिएको डेङ्गुको सङ्क्रमण मोरङमा पनि देखिन थालेपछि यस्तो निर्णय गरेको सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ । सुन्दरहरैंचा–५ का वडाअध्यक्ष राम रिजालले नगरपालिकाले गरेको निर्णयले सर्वसाधारणलाई धेरै सहज भएको बताए । विपन्न परिवारका लागि यो निर्णय अत्यन्तै राम्रो भएको उनी बताउँछन् ।