सङ्खुवासभा (रासस) चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् ।

चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी सङ्खुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् ।कतिपय बगानमा चिनियाँ व्यापारीेले रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिपसमेत लगाएका छन् । बितेका तीन वर्ष अघिसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे ।

विगत दुई वर्षदेखि ठूलो सङ्ख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयवासी बताउँछन् । चीनमा सजावट र शृङ्गारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गरेका छन् । पूर्वीपहाडी जिल्लामध्ये सङ्खुवासभामा रुद्राक्ष अत्यधिक उत्पादन हुने गर्छ । त्यसपछि भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसँगै सुनसरीको पहाडी क्षेत्रमा पनि रुद्राक्षको व्यावसायिक खेती हुने गर्छ । सङ्खुवासभा र भोजपुरको राम्रो नगदेबालीका रूपमा रुद्राक्ष रहेको छ । ठाउँअनुसार हावापानी फरक हुनाले रुद्राक्ष उत्पादन हुने सिजन पनि फरक छ ।

पछिल्लो समय रुद्राक्षको बोटमा क्लिप तथा विषादी प्रयोग गर्ने क्रम बढ्पछि यसको व्यवसाय नै सङ्कटमा पर्न सक्ने देखिएपछि किसानहरू चिन्तित भएका छन् । रुद्राक्षलाई कृत्रिम बनाउन अहिले बगानै ठेक्का लिएर रुद्राक्षको बोटमा विषादी हालेर अप्राकृतिक बनाउन थालिएको हो । विषादी र मेसिन प्रयोग गरेर रुद्राक्षको कृत्रिम आकार बनाउँदा पनि सम्बन्धित निकाय भने बेखबर देखिएको छ ।

रुद्राक्षको कृत्रिम उत्पादन गर्दा समस्या भएको भन्दै स्थानीय व्यापारी र कृषकहरू चिन्तित छन् । चिनियाँ व्यापारीले रुद्राक्षलाई आवश्यकताअनुसार क्लिप प्रयोग गरेर थेप्चे, कण्ठे, चिल्लो, मदाने र आकारका दानाहरू उत्पादन गरिरहेका छन् । व्यापारका लागि चिनियाँहरूले दुई वर्षअघिदेखि बोटमै विषादी र क्लिप प्रयोग गरेर कृत्रिम आकार बनाई बेच्ने गरेका छन् । चिनियाँ व्यापारी रुद्राक्षको व्यापार गर्न आठ वर्षअघि सङ्खुवासभा र भोजपुरका विभिन्न क्षेत्रका गाउँबस्तीमा बस्ने गरेका देखिन्छ । दुई वर्षदेखि कृषकका रुद्राक्ष बगान ठेक्का लिएर व्यापारीहरूले जथाभावी क्लिपबाट कृत्रिम दाना उत्पादन गरेको भन्दै केही स्थानमा प्रशासनले रोक लगाएको छ । तर, अझै रुद्राक्षलाई कृत्रिम बनाउने काम भने रोकिएको छैन । व्यापारीले विषादी र क्लिपको सहायताले कृत्रिम दाना उत्पादन गरेका रुद्राक्षले यसको महŒव घट्दै गएको भन्दै कृषकहरू चिन्तित भएका छन् ।

कृत्रिम उत्पादनले रुद्राक्ष बिक्रीमा समस्या हुन थालेको चैनपुर–६ का टीकादत्त गौतमले दुखेसो पोखे । चिनियाँ व्यापारी यस वर्ष रुद्राक्षको चिचिलै अवस्थामा बोटमै विषादी छर्किएर राम्रा दाना उत्पादन गर्न लागि परेका छन् । चिनियाँ व्यापारीले गत वर्ष सङ्खुवासभाको चैनपुर–११ लोहाकोटमा १५ लाखको ठेक्कामा लिइएको रुद्राक्षमा विषादी प्रयोग गरिएको रहस्यसमेत खुलेको छ । विषादी प्रयोग गरिएको रुद्राक्ष चिल्लो हुने भए पनि एक महिना नबित्दै त्यसको रङ खुइलिने, हलुका हुने र कालो देखिने समस्या देखिएको छ । त्यसले बहुमूल्य रुद्राक्षसमेत बिक्री गर्न समस्या भएको रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष चक्र बिसुन्केले जानकारी दिए ।

विषादी प्रयोग गरी उत्पादन भएका रुद्राक्ष बिक्री हुन समस्या भएको समेत उनले बताए । गत वर्ष परीक्षण गरिएका रुद्राक्षको बोटमा यस वर्ष राम्रा रुद्राक्ष फल्न छाडेको उनको भनाइ छ । विषादी र क्लिप प्रयोग भएका रुद्राक्ष नयाँ तथा पुराना व्यापारीले खरिद गरेर बिक्रीका लागि अन्य देश लैजाँदा नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मै धमिल्याउन चिनियाँ व्यापारी लागिपरेको सङ्घका अध्यक्ष बिसुन्केले बताए । विषादी प्रयोग गरेर गुणस्तरीय दाना उत्पादन गर्न अहिले भोजपुर, सङ्खुवासभासभा र धनकुटामा यसको लहर चलेको छ ।

कृत्रिम उत्पादनले चिनियाँ र भारतीय व्यापारीलाई समेत रुद्राक्ष निर्यातमा समस्या हुन थालेको व्यवसायीको गुनासो छ । रुद्राक्षले कृषकका वर्षौँसम्म आम्दानी दिनसक्ने बोटसमेत बिग्रिएको उनीहरूको भनाइ छ । बिगारिएको रुद्राक्ष अहिले झुक्याएर चीन र भारत बिक्री भए पनि त्यो लामो समय कायम हुन नसक्ने बताए । विषादी प्रयोग गरेर आवश्यकताअनुसार जति पनि रुद्राक्ष उत्पादन गर्न सकिने भएकाले आगामी दिनमा रुद्राक्ष व्यवसाय बन्द हुनसक्ने अवस्था आएको छ । विगतमा इण्डोनेशियामा यसरी नै विषादी प्रयोग गरेर कृत्रिम बनाइएको रुद्राक्ष बहुमूल्य रह्यो । तर, अर्को पटक गुणस्तरीय रुद्राक्ष उत्पादन नहुँदा व्यवसाय नै बन्द भएको व्यापारीहरू बताउँछन् ।

रुद्राक्षको उत्पत्ति
रुद्रंआक्ष शब्द मिलेर बनेको रुद्राक्ष शब्दसँग यसका उत्पत्तिका विभिन्न कथा पुराणहरूमा वर्णित छन् । रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आँसु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ । रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने एक प्रकारको वनस्पतिको बोटमा फल्ने घेरादार दाना हो । यसको दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ, हालसम्म एकमुखेदेखि एक्काइसमुखे रुद्राक्षका दाना फेला परेका छन् । एकमुखे रुद्राक्षलाई साक्षात् शिवस्वरूप मानिने भएकाले यो अमूल्य हुन्छ ।

रुद्राक्ष भगवान् शिवसँग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रूपमा धारण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै धार्मिक एवम् शारीरिक लाभ हुने विश्वास छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले त्यसबाट समुचित लाभ प्राप्त गर्न मद्य, मांस, लसुन, प्याजजस्ता तामसी भोजन गर्न नहुने मान्यता छ ।

विज्ञानका दृष्टिमा रुद्राक्ष
रुद्राक्षका विषयमा वैज्ञानिक अध्ययनसमेत भएका छन् भने थप शोध अनुसन्धान जारी छ । रुद्राक्षलाई नीलो सङ्गमरमर पनि भनिन्छ । यसको रुख नेपाल, पूर्वोत्तर भारत, इण्डोनेसियाको जकार्ता एवम् जावामा पाइन्छ । नेपालको रुद्राक्षलाई उत्तम मानिन्छ । वनस्पतिशास्त्रमा रुद्राक्षलाई इलियोकार्पस गेनिट्रस भनिन्छ । गोलो, खस्रो, कठोर एवम् लामो समयसम्म नबिग्रने रुद्राक्ष वास्तवमा एक प्रकारको बीज हो । पाँचमुखी रुद्राक्ष बढी सङ्ख्यामा पाइन्छ भने एक र चौधमुखी रुद्राक्ष दुर्लभ हुन्छ । प्राचीन ग्रन्थमा यसलाई चामत्कारिक तथा दिव्यशक्ति स्वरूप बताइएको छ । मान्यताअनुसार रुद्राक्ष धारण गर्नाले मुटुसम्बन्धी समस्या, रक्तचाप एवम् घबराहट आदिबाट मुक्ति मिल्छ । रुद्राक्षका विषयमा बताइएका चामत्कारिक गुण वास्तविक हुन् वा होइनन् भन्ने कुरा पत्ता लगाउने उद्देश्यले गरिएका आजसम्मका शोधकार्यबाट कतिपय गुणहरूको पुष्टि भएको पाइन्छ ।

विद्युतीय शक्ति
अध्ययनहरूबाट यसमा विद्युत् चुम्बकीय, अर्धचुम्बकीय तथा औषधीय गुण भएको कुरा पुष्टि भएको छ । वैज्ञानिकका अनुसार यसको औषधीय क्षमता विद्युत् चुम्बकीय प्रभावबाट पैदा हुन्छ । रुद्राक्षको विद्युत् चुम्बकीय क्षेत्र एवम् तेज गतिको कम्पन आवृत्ति र स्पन्दन देखेर वैज्ञानिकसमेत आश्चर्यचकित भए ।

यसकारण घनत्व बढी
वैज्ञानिकहरूबाट गरिएको बायो केमिकल विश्लेषणमा के देखियो भने रुद्राक्षमा कोबाल्ट, जस्ता, निकल, फलाम, म्याग्नीज, फस्फोरस, एल्युमिनियम, क्याल्सियम, सोडियम, पोटासियम, सिलिका एवं गन्धकजस्ता तŒव पाइए । यी तŒवको उपस्थितिका कारण रुद्राक्षको घनत्व बढी हुन्छ, फलतः यो पानीमा राख्दा डुब्छ ।

पानीमा डुब्ने रुद्राक्षलाई सक्कली मानिन्छ । कतिपयको मान्यतामा यसलाई दुईवटा तामाको सिक्काको बीचमा राखियो भने यसमा कम्पन उत्पन्न हुन्छ । वैज्ञानिकका अनुसार रुद्राक्षमा ब्याक्टेरिया, भाइरस एवम् फंगस् प्रतिरोधी गुण पाइन्छ । कतिपयले यसमा क्यान्सर प्रतिरोधी क्षमता पाइने आँकलनसमेत गरेका छन् । चीनमा गरिएको अध्ययनअनुसार रुद्राक्ष यिन–यांग ऊर्जाकाबीच सन्तुलन कायम राख्न सहयोगी हुन्छ ।

रुद्रक्षको संरक्षण गरी व्यावसायिक खेती विकास गर्न सङ्खुवासभामा कृषक र व्यापारीहरूको भेलाले विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति समेत गठन गरेको छ ।