विशेषगरी ग्ल्यामर क्षेत्रमा आफ्नो शरीरका विभिन्न अङ्गलाई सुन्दर र आकर्षक देखाउन प्लाष्टिक सर्जरी गर्ने होड चलेको छ । तर प्लाष्टिक सर्जरीले कुरूप पनि बनाउन सक्छ ।

हलिउड तथा बलिउडका धेरै सेलिब्रेटीहरू सुन्दर बन्ने होडमा प्लाष्टिक सर्जरी गर्दा झनै कुरूप बनेका उदाहरण पनि छन् । पर्दामा देखिने धेरै सुन्दरीहरू आफ्नो ओठ, स्तन, नाकजस्ता अङ्गलाई आकर्षक बनाउन प्लाष्टिक सर्जरी गर्छन् । तर सर्जरीमा खराबी आउँदा धेरैको रूप बिग्रिएको छ ।

एक समय बलिउड अभिनेत्री कोइना मित्राले आफ्नो नाकको प्लाष्टिक सर्जरी गराएकी थिइन् तर पछि उनको सर्जरी बिग्रिएर सुन्दरता गुम्यो । त्यसपछि उनले एक अन्तरवार्तामा प्लाष्टिक सर्जरीको ‘साइड इफेक्ट’ ले आफ्नो हड्डी फुलेको बताएकी थिइन् । उनले सोही अन्तरवार्तामा डाक्टरले पनि औषधि र भगवान भरोसा छोडिदिएको बताएकी थिइन् ।

प्लाष्टिक सर्जरी बिग्रिएर सुन्दरता गुमाउनेमा मित्रा मात्र होइन, धेरै अभिनेत्रीहरू छन् । बलिउडकै अर्की अभिनेत्री आयशा टाकियाको पनि प्लाष्टिक सर्जरीका कारण अनुहारको सुन्दरता बिग्रियो ।

अमेरिकी रियालिटी शो स्टार फराह अब्राहमले पनि ओठको सर्जरी गराएकी थिइन् । पहिलो पटक सर्जरी बिग्रिएपछि उनलाई डाक्टरले फेरि सर्जरी नगर्न सुझाव दिएका थिए तर उनले डाक्टरको सल्लाह मानिन् र उनले दोस्रो पटक सर्जरी गर्दा सुन्दरता गुमाइन् । ओठको सर्जरी गराएकी रक स्टार तथा लेखक कोर्टनी लवको पनि पछि अनुहार बदलियो ।

ट्रान्सजेण्डर मोडेल अमोण्डा लेपोरले जवान देखिनको लागि सर्जरी गराएकी थिइन् । तर सर्जरीपछि उनी झन् बिरूप बनिन् । इटालियन फेसन डिजाइनर डोनाटेला वर्सेसले पनि सर्जरी गराएका कारण अनुहारको सबै रूपरङ्ग बिग्रियो ।

अमेरिकी सामाजिक अभियन्ता सलीन वाइल्डस्टिनको पनि प्लास्टिक सर्जरीपछि अनुहार बिग्रिँदै गयो । उनले करिब ११ पटक सर्जरी गराएकी थिइन् । उनले ओठ, आइब्रोको पनि सर्जरी गराएकी थिइन् । जसले गर्दा उनको अवस्था निकै नराम्रो भयो । सर्जरीपछि उनलाई सिंहजस्तै देखिन थाल्यो ।

अमेरिकन र्यापर, मोडल तथा अभिनेत्री किम्बर्ली जोन्सले पनि आफ्नो ओठ, स्तन र नाकको सर्जरी गराएकी थिइन् । सर्जरीपछि उनको अनुहार झनै कुरूप बन्यो । अमेरिकी फिल्म, स्टेज तथा टेलिभिजन अभिनेत्री मेलानी ग्रिफिथको अनुहार सर्जरीको कारण पूरै बदलियो ।

प्लाष्टिक सर्जरीका कारण सुन्दरता गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । त्यसैले पछिल्लो समय प्लाष्टिक सर्जरी गर्दा सावधानी अपनाउन विज्ञहरूको सुझाव छ ।