– उपनिर्वाचनको विषयमा नेपाली काङ्ग्रेसले के सोच बनाइरहेको छ ?
अहिले म आफै पनि राजनैतिक रूपमा पार्टीको सङ्गठनलाई सुदृढीकरण गर्नका लागि पाटीको दैनिक गतिविधि तथाक्रियाकलापमा व्यस्त छु । जहाँसम्म उपनिर्वाचनको कुरा छ । २०७४ सालमा निर्वाचन हुँदा म आफैं प्रत्यासी थिए । हामीले जित हासिल गर्न सकेर्नाँै । त्यस बेलादेखि नै हामीले सक्रिय प्रतिपक्षको भूमिका निवाह गर्दै आएका छौँ । धरानको समग्र विकासमा हामी लागि परिरहेका छौँ । अबको निर्वाचनमा धरानको समग्र विकासका लागि एउटा जिम्मेवार पार्टीलाई जिताउनु पर्छ भन्दै नगरवासीहरूलाई आफ्नो अमूल्य मतको सदुपयोग गर्न अपिल गर्दै आएका छौँ । सोही अनुरूप कार्यकर्ताहरूलाई पनि परिचालित गरिरहेका छौँ । छलफलहरू तीव्र रूपमा अगाडि बढाइरहेका छौँ । एउटा प्रतिनिधि जसले पार्टीको नेतृत्व गर्दै समग्र नगरवासीको नेतृत्व गर्ने खालको व्यक्तित्व बोकेको, धरानको सर्वाङ्गीण विकास गर्ने क्षमता भएको धरानका नगरवासीको सेवाका लागि आफूलाई अहोरात्र सुम्पेको र विकासको मोडल बोकेको व्यक्तिलाई चुनावमा अगाडि सार्ने भन्ने छलफलमा जुटेका छाैँ ।

– लामो समयदेखि काङ्ग्रेस उपविजेतामै चित्त बुझाई रहेको अवस्था छ, के कारणले यस्तो भइरहेको छ ?
एउटा कुरा त हाम्रो सङ्गठन मजबुत भएन कि भन्ने लाग्छ । चुस्त दुरुस्त भएन कि भन्ने लाग्छ, जति पनि नेता कार्यकार्ताहरू छौँ, त्यो आफैप्रति, कमिटि प्रति र पार्टीप्रति जवाफदेही भएनौँ कि भन्ने लाग्छ । हाम्रो पहिलो चुनौती सङ्गठनलाई चुस्त दुरुस्त बनाउनु छ । बाह्य कुरो धरान ०३५÷०३६ सालदेखि शैक्षिक नगरीको रूपमा आएको छ । धरानमा पूर्वी पहाडी जिल्लाहरूबाट पढ्नका लागि धरानमा आउने र उनीहरू क्रान्तिकारी विचारहरूबाट अभिप्रेरित हुने भएकाले त्यस बेलादेखि नै कम्युनिष्टहरूले फल्ने फुल्ने अवसर पाएकाले त्यो समयदेखि नै कम्युनिष्टहरूको पुस्ता हस्तान्तरण हुँदै आएको छ, यसले गर्दा पनि हुनसक्छ ।
धरानले विकासको गति लिइरहँदा प्रतिस्पर्धाका कुरा, विकासका मोडलका कुरा, स्वतन्त्रताका कुरा, मानव अधिकारका कुराहरू, विदेशका विकासका कुरा पनि हुन थाले । यसले गर्दा त्यो कम्युनिष्टको पुस्ताहस्तान्तरण क्रमिक रूपमा घट्दो छ । काग्रेसको सङ्गठन पनि विस्तारै सुदृढ हुँदै छ । हामी युवा पुस्ताहरू पार्टीमा काम गर्दै आइरहेका छौँ । व्यक्तिगत तवरले हेर्दा काङ्ग्रेसमा युवा पुस्ताहरू आइरहेका छन् । तर, कम्युनिष्टको पुरानो पुस्ताहरू पुस्ता हस्तान्तरणले कम्युनिष्टहरू अगाडि आएका हुन् । उनीहरू भन्ने नै गर्छन् हाम्रो सङ्गठन ठूलो छ हामी जित्छौँ भनेर । तर, हामी नगरवासीको मन जित्छौँ भनिरहेका छौँ । हिजोको मतको परिणाम हेर्दा निरन्तर हाम्रो भोट बढिरहेको अवस्था छ ।

– के त्यसो हो भने धरानको शिक्षामा कम्युनिजम छाप छ त ?
होइन, युवाहरू परिवर्तनकारी स्वाभावका हुन्छन्, त्यसकारण उनीहरू क्रान्तिकारी विचारहरूबाट अभिप्रेरित भएका मात्र हुन् ।

– धरानमा जनजातिहरूले जित्छन् भन्ने मान्यता छ, तर गैर जनजातिहरूले जनजातिलाई नै हराएका पनि उदाहरण थुप्रै छन्, उप निर्वाचनको माहोलमा काङ्ग्रेसले यसलाई कसरी मूल्याङ्कन गरेको छ ?
जनताको मनोविज्ञान, मतदाताको उपस्थिति लगायतलाइ हेर्दा त्यो देखिन्छ । जनजातिको बाहुल्यता रहेको जनजातिका मुद्धाहरू अलि बढी उठ्ने केन्द्र विन्दुको रूपमा धरानलाई लिइन्छ त्यो एउटा फ्याक्ट नै हो तर समाज कसरी परिर्वतन भएको छ, राष्ट्रिय राजनीतिका मुद्धाहरू कसरी आएका छन् भन्ने कुराले पनि मतदातालाई आर्कषण गराएको हुन्छ । समग्रमा सङ्गठन र मतदाताको भावनालाई बुझेकाले नै जितेका हुन् कि भन्ने मलाई लाग्छ ।

– तपाईं पराजित हुनुमा के कारण कुन सक्छ ?
हाम्रो तयारी पूरा नभएको हो कि भन्ने लाग्छ । २४ गते मतदान थियो, दुई गते नोमिनेसन थियो अन्तिम अवस्थामा टिकट पाइयो । पार्टी चुनावमा लागिरहँदा पनि उमेदवार को हो त भन्ने अन्तिम समयमा मात्र निष्र्कष भयो जसले केही प्राविधिक समस्याहरू भए । र अर्को कुरा जनताको भावनालाई पनि बुझ्न सकेनौं कि भन्ने लाग्छ । आम रूपमा मुद्धाहरू हामीले उठाएकै थियौँ । कम्युनिष्टभन्दा फरक के छौँ भनेर हाम्रा नेता तथा कार्यकर्ताहरूले राम्रोसँग मतदातालाई बुझाउन सकेको भए जित हुन्थो कि भन्ने लाग्छ ।

– काङ्ग्रेसले गठबन्धन गर्ने भन्ने हल्ला छ नि, के यो सत्य हो ?
यथास्थितिवादीको पक्षमा नेकपा छ । त्यसबाहेकका दलहरूमा हाम्रो गठबन्धन हुन्छ र त्यसको नेतृत्व काङ्ग्रेसले गर्नेछ । त्यसमा छलफल भइरहेको छ । हामीले सबै राजनीतिक दलहरूको मुद्धालाई बोकेर एकीकृत रूपमा उमेद्वारी दिन्छौँ ।

– धरानमा काङ्ग्रेसले विरोधका लागि मात्र विरोध गरिरहेको छ, काङ्ग्रेसमा समस्या सामधानका उपायहरू छैनन् भन्ने आरोप छ नि तपाईंहरूमा ?
नगरपालिकाले नगरवासीलाई झुक्याइरहेको छ । त्यो भ्रम चिर्न जरुरी छ, त्यो भ्रम चिर्न हामी नगरवासीहरूलाई सुसूचित गरिरहेका छौँ । यथास्थितिलाई छोडेर परिवर्तनको पक्षमा जानुपर्छ भन्ने कुरा गरिरहेका छौँ । २८–३० वर्षमा सत्तारुढ पार्टीले विकासको मोडल के ल्याएको छ ? यसपालीको बजेटको परिभाषा के हो ? संसद् जिते, मेयर जिते विकास खै ? खानेपानी आयोजना २ वर्षमा सम्पन्न हुने भनिएको थियो ४ वर्ष भइसक्यो, १ अर्ब ४८ करोडको आयोजना २ अर्ब नाघि सक्यो, बसपार्क बनाउनुपर्छ भन्नेमा नेपाली काङ्ग्रेसले सहमती दिइरहेका छ त । खै बनाएको, खाली शिलान्यास मात्र गर्ने ? डिपिआर खै ? डिपिआर बिना शिलान्यास गर्न के आपत् आइलाग्यो ? हामीले डिपिआर माग्दा विरोधका लागि विरोध मात्र हो त ? तारा सुब्बाको स्मृति ग्रन्थ निकाल्ने, तारा सुब्बाको वार्षिक कार्यक्रम गर्ने, अरू के छ योजना ?

– नेपाली काङ्ग्रेसको सुझाव चाहिँ के छ त ?
खानेपानी आयोजनालाई निर्णायक ढङ्गले अगाडि बढाउनुपर्यो । लगानीको सुनिश्चितता गर्देै सबैको सहमतीमा बसपार्कको कार्य अगाडि बढाउनुपर्यो । यती इन कर्पोरेटले एयरपोर्ट बनाउन सक्दैन भने नगरपालिकाको नाममा त्यो जग्गा ल्याउनुप¥यो । जलाधार क्षेत्रका जग्गाहरूको संरक्षण गर्नुप¥यो । सेउती सर्दु करिडोरको काम अगाडि बढाउनुपर्योर । धरानमा अव्यवस्थित तथा सुकुम्बासीका ५० बटाभन्दा बढी बस्तीहरू छन् तिनीहरूलाई १०–१२ तले विल्डीङ् बनाएर १०० भन्दा परिवार राख्न सकिन्छ । त्यसरी ५० वटा बस्तीलाई २ देखि तीनवटा बस्तीमा झार्न सकिन्छ र बाँकी रहेको जमिनलाई सही भूउपयोग नीति ल्याएर अन्य प्रयोजनमा प्रयोग गर्न सकिन्छ । धरान सबैभन्दा महङ्गो बजारको परिचय बोकिरहेको छ । पूर्वी पहाडी जिल्लाको कृषि उपज रहेको धरानमा यहाँबाट लाने गरेका छिमेकी शहरहरूको भन्दा महङ्गो मूल्यमा सब्जी खरीद गर्नु परिरहेको छ । तिनकुनेमा एमालेका मजदुरहरूले सिण्डीकेट गरिरहेका छन् । एउटा ट्रकले ५ हजारको सामान ल्यायो भने त्यो झार्न १० हजार मागिरहेको अवस्था छ, त्यो सिण्डीकेट तोड्न जरुरी छ । टेम्पू सिटिसफरी अनधिकृत रूपमा भित्रिरहेका छन् । कर बढाउनेमात्र काम नगरी करको दायरा नबढाउने काम गर्न जरुरी देखिन्छ । शैक्षिक नगरी भनिएको छ, तर शैक्षिक क्षेत्रमा के छ योजना ? कार्यक्रम ? यहाँ गर्नुपर्ने धेरै काम बाँकी छन् ।