धरान । बचतकर्ताको रकम सुनमा लगानी गरेर करोडौं अपचलन गर्ने सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित सञ्चालक समिति नै तानिन सक्ने देखिएको छ ।
सहकारी सिद्धान्त विपरीत जनताको रकम उठाएर लगानी तथा फिर्ता नगरेको अवस्थामा सहकारी ऐन २०७४ तथा नियमावली २०७५ ले सञ्चालक समितिको सम्पत्ति रोक्का गरी असुलउपर गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुरूप अध्यक्षसहित सञ्चालक समितिको सम्पत्ति बिक्री वितरण गरी असुलउपर गरिने सङ्केत देखिएको हो । सहकारीका अध्यक्ष कृष्ण विकले आफैले सञ्चालनमा ल्याएको शिखर सगरमाथा सुन–चाँदी प्रालिमा लगानी गरेको देखिएको धरान उपमहानगरपालिका सहकारी विकास समितिले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा ऋण सापटीका रूपमा सुन–चाँदीमा ६८ लाख रुपैयाँ प्रत्यक्ष लगानी भएको देखिएको थियो भने अन्य रकमहरू सहकारीकै पासबुक दुरूपयोग गरेर सुनमा लगानी गरेको देखिएको थियो । त्यसबेला करिब ५ करोड रुपैयाँ अपचलन गरेको प्रतिवेदन धरान उपमहानगरलाई बुझाएको थियो ।

असार २३ गते अध्यक्ष विक बेपत्ता बनेपछि बचतकर्ताहरूले सोधीखोजी प्रारम्भ गरेका थिए । सञ्चालक समितिमा रहेकी उपाध्यक्ष विष्णुकुमारी श्रेष्ठसहित १२ जना सदस्यहरूले आफू जोगिनका लागि अध्यक्षले हिसाब–किताब नदेखाएकाले हिसाब–किताब गरी पाउँ भन्दै धरान उपमहानगरको सहकारी विकास समितिलाई निवेदन दिएका थिए । सोही निवेदनको आधारमा टङ्क सुवेदीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनेको थियो ।

सोही क्रममा सिर्जना देवान राईसहित ८५ जना बचतकर्ताले ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैयाँ बिगो दाबीसहित इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा इप्रका धरानले सहकारीका प्रबन्धक तथा विकका छोरा मोहन विक दर्नाल र लेखापाल कमलादेवी विकलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष विकलाई भने एकमहिनापछि सोमबार मात्रै रुपन्देही जिल्लाको बुटवलबाट पक्राउ गरेको छ ।

अध्यक्ष विकको हाल सबै सम्पत्ति रोक्का गरिएको छ । तर, बचतकर्ताले बिगो दाबी गरेअनुसार रकम भर्पाइ गर्न नसक्ने अवस्था सिर्जना भएमा सञ्चालक समितिको सम्पत्ति बिक्री वितरण गरी असुलउपर गरिने ऐनमा स्पष्ट व्यवस्था रहेको छ ।

‘सहकारी सिद्धान्तअनुसार जनताबाट उठाएको रकम तिर्न नसके सञ्चालक समितिबाटै असुलउपर गरिने ऐनमा व्यवस्था छ’ धरान उपमहानगर सहकारी विकास समितिका संयोजक एवम् १५ नम्बर वडाध्यक्ष नरेश इवारम भन्छन्, ‘अध्यक्षले अपचलन गरे निजसहित सञ्चालक समिति, लेखा समितिको देशभरि रहेको चल–अचल सम्पत्ति बिक्री वितरण गरी पैसा फिर्ता गरिने व्यवस्था छ ।’ ऐनमा जेल सजायदेखि बिगो भराउनेसम्मको व्यवस्था रहेको उनी बताउँछन् । उनका अनुसार २ करोड रुपैयाँ सहकारीका सङ्कलनकर्तामार्फत् सङ्कलन गरेको देखिएको छ भने अन्य रकम व्यक्तिले सिधै पासबुकमा जम्मा गर्ने गरेको भेटिएको छ ।

अध्यक्ष विकले सहकारीको सिद्धान्तभन्दा बाहिर गएर आफ्नै परिवारभित्रका मान्छेलाई प्रबन्धक र लेखापाल बनाएका थिए । छोरा मोहनलाई प्रबन्धक बनाएका थिए भने साली कमलादेवीलाई लेखापाल बनाएका थिए । असार २३ गते बेपत्ता बनेपछि पनि अध्यक्ष विक लेखापाल कमलादेवीको नियमित सम्पर्कमा रहेका थिए । त्यही क्रममा कमलादेवी काठमाडौंबाट भैरहवा जाने क्रममा काठमाडौंको नाकढुङ्गाबाट माइती नेपालले उद्धार गरी आफन्तलाई बुझाएको थियो ।

आफन्तमार्फत् मोरङको बेलबारीस्थित घरमा ल्याइएपछि सहकारी पीडितहरूले इलाका प्रहरी कार्यालय धरानमा बुझाएको थियो । अध्यक्ष विक फरार रहेकै समयमा असार २७ गते श्रीमती विष्णुमायाको नाममा रहेको घर एक करोड ५० लाख रुपैयाँमा नेपाली काङ्ग्रेसका सांसद् मीन विकको सालीको नाममा बिक्री गरिएको थियो । उक्त बिक्री भएको घरजग्गा हाल रोक्का रहेको छ । कतिपय पीडितहरूले अध्यक्ष विकको नाममा रहेको जग्गा रोक्का गरिपाउँ भन्दै जिल्ला अदालत सुनसरीमा मुद्दासमेत हालेका छन् ।

अध्यक्ष विकले १४ प्रतिशतसम्म ब्याजको प्रलोभन देखाएर एकै व्यक्तिबाट १ करोडभन्दा बढी रकम लिएका थिए । जुन रकम उनले सुन तथा जग्गामा लगानी गरेको हुनसक्ने पीडितहरू बताउँछन् । असार २३ गते बेपत्ता बनेका विकले सोही दिन काठमाडौंको एक सुन–चाँदी पसलबाट एकसय ८१ ग्राम सुन उधारोमा ल्याएका थिए । जसमध्ये प्रहरीले १ सय ६३ दशमलव २ सय ९६ ग्राम सुनजस्तो देखिने वस्तु बरामद गरेको जनाएको छ । त्यस्तै २ सय ९७ दशमलव ९ सय ३६ ग्राम चाँदीजस्तो देखिने धातुसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।