धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ वर्षे युरो गाइनोकोलोजी फेलोसिप कार्यक्रम शुरु हुने भएको छ ।
नेपालमै पहिलोपटक शुरु हुन लागेको फेलोसिपका लागि एमडी गरेर एक वर्षको अनुभव भएका चिकित्सकहरूले आवेदन दिन सक्नेछन् । आगामी सेप्टेम्बर १ देखि शुरु हुने फेलोसिप कार्यक्रमका लागि आवेदन दिएकामध्ये प्रतिष्ठानभित्रका १ र अन्य १ नेपालीले फेलोसिपमा अध्ययन गर्ने मौका पाउने फेलोसिप कार्यक्रमका निर्देशक डा.मोहनचन्द्र रेग्मीले बताए ।

बीपी प्रतिष्ठानले हालै युरोगाइनोकोलोजीमा भर्नाका लागि सार्वजनिक सूचना जारी गरेको छ । प्रतिष्ठानको प्रस्पेक्टसमा पनि यो कार्यक्रम समावेश छ । फाउण्डेसन फर इण्टरनेशनल युरोगाइनोकोलोजीकल एसिष्टेन्स (फ्युगा) को सहयोगमा शुरु हुनलागेको फेलोसिप बारे फ्युगाले नेपाल प्रोजेक्टका रूपमा आफ्नो वेबसाइटमा यो कार्यक्रमलाई राखेको छ । विश्वका विकसित देशमा हुने गरेको युरोगाइनोकोलोजी फेलोसिप भारतमा पनि भर्खरै मात्र शुरु भएको हो । फेलोसिप कार्यक्रम निर्देशक डा.रेग्मी भन्छन्, ‘नेपालमा यस्तो फेलोसिप शुरु हुनु नेपालीका लागि एकदम खुशीको कुरा हो ।’

फेलोसिपबाट युरोगाइनोकोलोजीमा दक्ष जनशक्ति उत्पादन भएपछि देशमै युरोगाइनोकोलोजीको समस्याका पीडितले राम्रो उपचार पाउने निर्देशक डा.रेग्मीले बताए । प्रतिष्ठानले युरोगाइनोकोलोजीसँगै स्पाइन सर्जरी र इमर्जेन्सी मेडिसिनमा पनि फेलोसिप कार्यक्रम सञ्चालन हुने जनाएको छ । यसमध्ये इमर्जेन्सी मेडिसिनमा सन् २०१३ देखि नै फेलोसिप कार्यक्रम शुरु भएको हो भने स्पाइन सर्जरी यसै वर्षदेखि शुरु भएको हो ।