भद्रपुर । नेपाल महिला चेम्बर झापाले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले पछिल्लो समय प्रविधिको विकास र राजनीतिक आडका कारण समाज विचलनतर्फ गइरहेको उल्लेख गरेका छन् ।

समाजमा हुने आपराधिक क्रियाकलापमा राजनीतिक पहुँच र आर्थिक चलखेलका कारण पीडितले न्याय नपाएको र पीडक भने खुलेआम हिँडिरहेको बताएका छन् । झिलझिलेमा भएको वित्तीय संस्थाको घटना र बुद्धशान्ति गाउँपालिकामा भएको महिला हिंसा यसको ज्वलन्त उदाहरण भएको सहभागी महिला देवकुमारी शेर्माले बताइन् । भाषणभन्दा पनि दूरदराजमा भइरहेका अनेकन घटनामा सम्बोधन हुन जरुरी रहेको उनले सुझाव दिएकी थिइन् ।

पीडित न्यायको पहुँचमा नपुगेका कारण दैनिक समाज विचलन उन्मूख भइरहेको उनको भनाइ थियो । पीडितले न्याय नपाएको चेम्बरकी सदस्य जानुका ओलीले बताइन् । राजनीतिक दलले घटना ढाकछोप गर्ने र कानून व्यवसायीलाई रकमको खोलो बगाइदिएपछि समाज विचलनतर्फ गएको उनले उल्लेख गरिन् ।

राज्यको कानूनभन्दा पनि व्यक्तिको कानून चलिरहेको उनको धारणा थियो । कार्यक्रममा जिल्लाका एसपी दिनेशराज मैनालीले कानूनभन्दा माथि कोही पनि नभएकोले दोषीले कारबाही र पीडितले न्याय पाउनको निमित्त कुनै कसूर नराखिने बताए ।

चेम्बर अध्यक्ष पेमा भट्टराईको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता लेखनाथ निरौला, कुलप्रसाद दाहाल, टङ्क उप्रेती, महिला सहभागी प्रमिला खरेल, सञ्चारकर्मी उत्तम नेपाललगायतले जिज्ञासा राखेका थिए । सहभागीको जिज्ञासा तथा सुझावलाई छलफल गरी निष्कर्षमा पु¥याइने आयोजकले जनाएको छ ।