मधुमल्ला । मोरङको मिक्लाजुङ–६ कालीदह घर भई मिक्लाजुङ–९ मा डेरामा बस्दै आएका १९ वर्षीय अनिश कार्कीको हत्यामा प्रहरीको फितलो अनुसन्धानका कारण न्याय पाउन नसकेको पीडित परिवारले गुनासो पोखेका छन् ।

बिहीबार उर्लाबारीस्थित सञ्चार क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले प्रहरीले फितलो अनुसन्धान गरिदिँदा आफूहरूले न्याय नपाएको गुनासो पोखेका हुन् । प्रहरीले फितलो अनुसन्धान गर्दा हत्याका आरोपी छुटेको मृतककी श्रीमती रञ्जिला श्रेष्ठ कार्कीले बताइन् । उनको हत्यामा आरोपमा पक्राउ परेका भक्ते भनिने सन्दीप परियारसहित तीनजना छुटेका छन् । जिल्ला अदालत मोरङले उनीहरूलाई आवश्यक परेको बेला उपस्थित गराउने गरी साधारण तारेखमा छाडेको हो ।

प्रहरीले फितलो अनुसन्धान गरिदिँदा श्रीमान् हत्यारा छुटेको आरोप पत्नी रञ्जीलाको छ । अनिश साउन ८ गते खोलामा मृत अवस्थामा फेला परेका थिए । साउन ५ गते मध्यरातमा साथीहरूसँग बाहिर निस्किएका अनिश साउन ६ गतेसम्म घरमा नआएपछि कार्कीको बारेमा पत्नी रञ्जिला श्रेष्ठले साथीहरूलाई सोधीखोजी गरिन् ।

त्यसपछि साथीहरूले काठमाडौं गएको प्रतिक्रिया दिएको जनाइन् । कार्की बेपत्ता भएको चार दिनपछि मोरङकोे बक्राहा र नुनसरी खोलाको बगरमा निर्वस्त्र अवस्थामा शव भेटिएको थियो । कार्की साथी सन्दीप नेपाली र विशाल ऋषिदेवकोे साथमा रातको समयमा घरबाट निस्किएका थिए ।

अनिशकी ठूलोममी समीक्षा भण्डारीले प्रहरी प्रशासनको फितलो अनुसन्धानका कारण अभियुक्तहरूले उन्मुक्ति पाएको बताइन् । उनले नाबालक भन्दै दोषीलाई उन्मुक्ति दिने चलखेल भइरहेको र न्यायको लडाइँमा सबै मिक्लाजुङबासीलाई साथ दिन अपिल गरिन् । राति सँगै निस्किएका साथीहरूले नै हत्या गरेको उनको दाबी छ । मृत अवस्थामा भेटिएका अनिशको टाउको पछाडि ठूलो चोट हुनु, मृतकको शरीरमा कपडा नहुनु हत्या भएको बलियो प्रमाण रहेको अनिशका बुबा तेजबहादुर कार्कीले बताए ।

उनले दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए । उनले शवको प्रकृति हेर्दा डुबेर मृत्यु भएको हुने विश्वास गर्न नसकिने बताए । ‘यदि डुबेर मरेको भए त्यही रिपोर्ट आउनु प¥यो, मारेको हो भने त्यही रिपोर्ट आउनु प¥यो’ उनले भने, ‘हामीलाई न्याय चाहियो ।’

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख इन्स्पेक्टर सुवास राईले घटनाको बारेमा थप अनुसन्धान भइरहेको र छोडिएकाहरूलाई पनि प्रहरीले आवश्यक परेको खण्डमा उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाइएको बताए । राईले भने, ‘हामी पनि अनिश कार्कीको मृत्युको घटनामा गम्भीर भएर लागेका छौं, अपराधीलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिन हामी प्रतिबद्ध छौं ।’