बलिउड अभिनेत्री विद्या सिन्हाको निधन भएको छ । ७० को दशककी चर्चित अभिनेत्री विद्याको ७१ वर्षको उमेरमा बिहीबार मुम्बईको जुहुस्थित एक अस्पतालमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअगाडि अस्पताल भर्ना गरिएको थियो । फोक्सो तथा मुटुमा गम्भीर समस्या भएकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

‘छोटी सी बात’, ‘रजनीगन्धा’, ‘पति पत्नी और वो’, ‘मुक्ति’ जस्ता फिल्ममा उनले गरेको अभिनय दर्शकहरूले अत्यधिक मन पराएका थिए । फिल्मसँगै टेलिभिजन शोहरूमा काम गरेकी उनी चर्चित थिइन् । १८ वर्षको उमेरमै ग्ल्यामर क्षेत्रमा लागेकी विद्याले ‘मिस बम्बे’ को ताज जितेकी थिइन् । करिब ३० वटा फिल्ममा अभिनय गरेकी उनको क्रेज ८० को मध्य दशकदेखि घटेको थियो । पछि उनी टेलिभिजन कार्यक्रमहरूमा सक्रिय बनेकी थिइन् ।