इटहरी/ आधुनिक संस्कृतिसँगै स्वादका पारखीहरू रेष्टुरेण्ट वा होटलमा बनाइएका रेडिमेड खानामा आकर्षित हुन थालेका छन् ।

घरमा बनाउन अल्छी मान्ने तथा बाहिरको तुलनामा स्वादिलो नहुने भन्दै अधिकांश मानिस फास्टफुडको सौखिन बनेका छन् ।
मुखै रसाउने गरी चोक–चोक र होटलहरूमा बिक्री हुने मसालेदार खानेकुरामा अजिना अत्यधिक हुने गरेको पाइन्छ । होटलहरूमा स्वादको नाममा छ्याप्छ्याप्ती अखाद्य पदार्थ मिसावट गरी मानवीय स्वास्थ्यका लागि हानिकार पदार्थ मिसावट गर्दा समेत सम्बन्धित निकाय भने मौन रहेको पाइन्छ । खासगरी खाद्यान्नको नमीठोपन तथा खराब पक्ष जबर्जस्ती दबाउनका लागि अजिनामोटो प्रयोग गरिन्छ ।

खानेकुरालाई स्वादिलो बनाउन यस्ता वस्तुको प्रयोग हुने गरेको इटहरी–६ की सापकोटा होटलकी सञ्चालिका मेलिना सापकोटाले बताइन् । ‘हामी कसैले नहाल्दे भन्यो भने हाल्दैनौं, भनेन भने चाउमिनलगायतका खाजामा अजिना प्रयोग गर्छौं’ उनले ढुक्कसँग भनिन्, ‘अजिना हालेन भने चाउमिन मीठो हुँदैन, होटल नै चल्दैन त त्यसकारण हामी अजिनाको प्रयोग गर्छौं ।’

इटहरीको सापकोटा होटल प्रतिनिधि पात्र मात्र हो, अहिले अधिकांश सानादेखि ठूला होटलहरूमा खाजा मीठो बनाउन अखाद्य वस्तुको प्रयोग बढेको छ । पशुपति केवल इटहरीका सञ्चालक मुकुन्द भट्टराईले होटलहरूमा मीठो स्वादको नाममा हानिकारक पदार्थ खुवाइरहेको बताए । ‘भुजा साँदेकोमा समेत अजिना हालेको पाएँ’ भट्टराईले भने, ‘प्रायः सबै होटलमा अजिनाको प्रयोग बढिरहेको छ, ग्राहकहरूले मीठोको नाममा अजिना धेरै खाइरहेको छन्, म खाजा पसलमा अजिना नहाल्नू भनेर शुरुमै भन्छु ।’

मानव स्वास्थ्यमाथि खेलवाड गरी यस्ता अखाद्य पदार्थ आयात गरी बिक्री वितरण भइरहेको छ । व्यापारीहरूले भारतबाट आयात गरी बिक्री वितरण गर्दै आएको बताएका छन् । अधिकांश विद्यालयपरिसरमा बिक्री हुने पानीपुरी, चट्पटेमा यसरी अखाद्य पदार्थ मिसावट हुने गरेको इटहरी–१९ की सविता राई बताउँछिन् । ‘मीठो स्वादको लागि धेरैले अजिना हाल्दारहेछन्’ उनले भनिन्, ‘पछिल्लो समय मैले पानीपुरी, चट्पटे र चाउमिन, थुक्पा खान छाडेको छु ।’

इटहरीस्थित एपेक्स हस्पिटलका डाक्टर सतिस निरौला भन्छन्, ‘मोनोसोडियम ग्लोटामेट अर्थात् अजिनामोटोले हड्डीको घनत्वलाई घटाउँछ । यसले मिर्गौलालाई पनि असर गर्ने उनको भनाइ छ । टाउको र छातीमा समेत असर गर्ने गरेको उनी बताउँछन् । पसिना धेरै आउने र शरीरलाई शिथिलसमेत बनाउँछ । अहिले होटलहरूमा धेरै अजिना प्रयोग भएको बताउँदै यसमा भने होशियारी अपनाउनु पर्ने उनको सुझाव छ ।

अजिनाले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुग्ने स्वास्थ्यकर्मीको भनाइ रहेको छ । चट्पटेमा मिसाउने अजिनाले मानिसको हाड मक्काउने काम गर्दछ भने अन्यमा गम्भीर रोग नित्याउन सक्ने स्वास्थ्यकर्मीको भनाइ रहेको छ । बालबालिकाहरूलाई यस्तो पदार्थ खुवाउन नहुने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

यी हुन् अजिना मोटोको बेफाइदा
अजिना सेवनले शरीरमा पानीको मात्रा कम बनाइदिन्छ । यसले अनुहार सुन्निने, खुट्टाका मांसपेशी बाउँडिने गर्छ । यसको प्रयोगले बिस्तारै टाउको दुख्ने समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् । लगातारको प्रयोगले यसले मानसिक समस्या पनि उत्पन्न गराउन सक्छ ।

अजिना एक प्रकारको एसिड नै भएकाले पेट तथा घाँटी पोल्ने हुनसक्छ । हड्डीलाई विस्तारै कमजोर बनाउँदै लैजाने कालान्तरमा हड्डी बाङ्गिने तथा धुलिने रोग लाग्न सक्छ । उच्च रक्तचाप भएका व्यक्तिले त झन् अजिना रत्ति पनि सेवन गर्न नहुने चिकित्सकहरू बताउँछन् ।