कलाकार सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

उनी केही समयदेखि निमोनियाबाट ग्रसित थिइन् । उनको शनिबारै पशुपति आर्यघाटको विद्युतीय शव गृहमा दाहसंस्कार गरियो । कलाकार अधिकारीलाई श्रद्धाञ्जली दिन पर्यटन मन्त्री योगेश भट्टराई पनि पशुपति आर्यघाट पुगेका थिए ।

उनलाई श्रद्धाञ्जली दिन कलाकारहरू भूवन चन्द, चैत्यदेवी, वसुन्धरा भुषाल, करिश्मा मानन्धर, रेखा थापालगायत पशुपति आर्यघाट पुगेका थिए ।

सुभद्राले अभिनय गरेका दर्जनौं फिल्म सफल छन् । फिल्म ‘भाउजू’ मा काम गरेपछि उनलाई फिल्म क्षेत्रकी भाउजू भनेर समेत चिनिएको थियो ।

उनले अभिनय गरेका ‘काठमाण्डु, मसान, शासन, बाटो मुनिको फूल, किस्मत, दोस्ती, मनको बाँध, वासुदेव, माया प्रिती, बेहुली, पिरती, कन्यादान, चिनो, कस्तुरी, सपना, भाउजू, स्वर्ग, कर्जा’ लगायत थुप्रै चलचित्र सफल छन् ।