गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ बाट सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड र राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी अभिनेत्री स्वस्तिमा खड्कालाई अहिले ‘नम्बर वान अभिनेत्री’ पगरी गुथाउन थालिएको छ । लभर गर्लको भूमिका होस् वा विवाहित महिला, उमेरले २५ वर्ष पनि नटेकेकी उनीसँग सबैखाले भूमिकामा जीवन्त अभिनय पस्किने खुबी छ ।

स्पष्ट वक्ताको रुपमा समेत चिनिएकी स्वस्तिमाको सातौं फिल्म ‘हजार जुनीसम्म’ यही बिहीबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा उनले ‘सिक्किमे युवती’ को भूमिका निभाएकी छन् । दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको यस फिल्मले बक्सअफिसमा भने अपेक्षाकृत व्यापार गर्न सकेको छैन । प्रदर्शनको दुई दिन फिल्मको व्यापार औसत रह्यो । शनिबार भने देशभर राम्रो रहेको जानकारी प्राप्त छ ।

कमर्शियल र आर्ट दुबै प्रकारको फिल्म गर्न रुचाउने स्वस्तिमाले ‘हजार जुनीसम्म’ हलमा प्रदर्शन भइरहँदा नयाँ फिल्ममा अनुबन्ध भएको जानकारी दिएकी छन् । शुक्रबार साँझ फेसबुक स्टोरीमार्फत् उनले आफ्नो नयाँ फिल्म अनुमान गर्न आग्रह गर्दै स्क्रिप्टको तश्विर साझेदार गरेकी छिन् । तश्विरमा उनले फिल्म र निर्देशकको नाम लुकाएकी छन् । उनले स्क्रिप्टमा आफ्नो आठौं फिल्म भनेर लेखेकी छन् ।

केही दिनयता फिल्मवृतमा उनले एक फिल्ममा अभिनेता विपिन कार्कीसँग स्क्रिन साझेदारी गर्न लागेको चर्चा छ । हालै एक भेटमा उनले यो कुरा नकारिनन् । उनले भनेकी थिइन्, ‘निर्देशक र निर्माताले उहाँसँग कुरा गर्नुभएको छ । उहाँले गर्नु हुन्छ वा हुँदैन थाहा भएन । तर, मैले भने फिल्म गर्ने निधो गरिसकेको छु ।’ आफूले वर्षौदेखि गर्न चाहेको स्क्रिप्टमा काम गर्ने मौका पाएको उनको भनाई छ ।

विपिन र स्वस्तिमा दुबै यस वर्षका राष्ट्रिय पुरस्कारका विजेता हुन् । स्वस्तिमाले ‘बुलबुल’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउँदा ‘प्रसाद’ बाट विपिनले उत्कृष्ट अभिनेताको अवार्ड चुमेका थिए । तर, दुईले अहिलेसम्म साथमा काम गरेका छैनन् । दुईलाई पर्दामा हेर्ने दर्शकको ठूलो इच्छा छ । विशाल सापकोटाको निर्देशनमा बन्न लागेको फिल्म ‘सेल्फी किङ’ मा पनि विपिनसँग स्वस्तिमाको जोडी बाँधिने चर्चा छ ।

साभारः फिल्मीखबरबाट