विवाह समारोहमा बम विस्फोट हुँदा ६३ जनाको मृत्यु

alt
  • भदौ १, २०७६
  • २८६ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा गराइएको बम विस्फोटनमा परेर ६३ जना मारिएको र १८० जनाभन्दा बढी मानिस घाइते भएका छन्।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएका थिए। विस्फोटनपछि धेरै मानिस हताहत भएको देखेको उनीहरूले बताए।

स्थानीय समयअनुसार राती २२:४० बजे शहरको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा उक्त विस्फोट भएको थियो। तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसङ्ख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन्।

जिम्मेदारी
काबुलको एक प्रहरी चौकीमा १४ जनाको ज्यान जाने र १५० जनालाई घाइते तुल्याउने गरी ठूलो बम विस्फोटन गराइएको १० दिनपछि पछिल्लो हमला भएको छ। तालिबानले पछिल्लो हमला आफूले गराएको बताएको छ।

शुक्रवार पाकिस्तानको क्वेटा सहरमा एक मस्जिद नजिकै राखिएको बम विस्फोट हुँदा तालिबान नेता हिबतुल्लाह अखुन्डजादाका भाइ मारिएका थिए। त्यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन।

अफगानिस्तानको गुप्तचर निकायको एक सूत्रले बीबीसीलाई बताएअनुसार तालिबान नेता हिबतुल्लाह अखुन्डजादा आफैँ त्यो मस्जिदमा प्रार्थना गर्न जाने कार्यक्रम थियो। सायद उनैलाई निसाना बनाउने योजना थियो।

अफगानिस्तानमा हजारौँ सैनिक खटाएको अमेरिका र तालिबान शान्ति सम्झौताको नजिक पुगेको भनिएको बेला अफगानिस्तानमा तनाव बढेको छ।

पछिल्लो घटनाबारे के थाहा छ ?
आन्तरिक मन्त्रालयका प्रवक्ता नस्रत राहिमीले पुष्टि गरेअनुसार शनिवारको विस्फोटनमा गैरसैनिकहरू हताहत भएका छन् तर उनका अनुसार त्यसबारे विस्तृत विवरण सङ्कलन गर्ने काम अझै चलिरहेको छ।

अफगानिस्तानमा हुने विवाह समारोहमा सयौँ पाहुनाहरू सहभागी हुने गर्छन्। उनीहरू ठूला हलमा जम्मा हुन्छन्, जहाँ महिला र केटाकेटी तथा पुरुषहरू छुट्टाछुट्टै समूहमा बस्छन्।

विवाहमा सहभागी एक पाहुना मोहमद फार्हागले आफू महिला बस्ने खण्डतिर गएको बेला पुरुषहरू भएतिर ठूलो आवाजमा विस्फोट भएको सुनेको बताए।

'त्यसपछि सबैजना रुँदै र कराउँदै बाहिर निस्किन थाले', उनले भने, '२० मिनेट जति हलमा धुवाँ नै धुवाँ देखियो। पुरुषहरू भएतिर लगभग सबैजना मृत अवस्थामा वा घाइते भएर लडिरहेका थिए। घटनाको दुई घण्टापछि हताहत भएका मानिसलाई हल बाहिर लैजान थालियो।'

तालिबान र अमेरिकी प्रतिनिधिहरूले कतारको राजधानी दोहामा शान्ति वार्ता गरिरहेका छन्। दुवै पक्षले वार्तामा प्रगति भएको बताइरहेका छन। शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटरमा सन्देश लेख्दै दुवै पक्षले "सम्भव भएसम्म सहमति जुटाउने प्रयास गरिरहेको' बताए।

त्यो सहमति अनुसार अफगानिस्तानमा खटिएका अमेरिकी सेनाहरू क्रमबद्ध रूपमा हट्न थाल्ने र तालिबानले अफगानिस्तानबाट कुनै पनि अतिवादी समूहले अमेरिकी निसानामा आक्रमण नगर्ने सुनिश्चित गर्नुपर्ने छ।

त्यसअनुसार तालिबानले अफगानिस्तानको सरकारी टोलीसँग वार्ता गर्दै शान्तिको खाका तयार पार्दै युद्धविराम गर्ने भनिएको छ। तर अमेरिकी सेना हट्ने समयतालिका नबनेसम्म तालिबानहरू अफगानिस्तान सरकारसँग वार्ता नगर्ने अडानमा छन्।

सन् २००१ मा सत्ताबाट हटाइएको तालिबानले अहिले आफ्नो पकड क्षेत्र निकै धेरै विस्तार गरिसकेको छ।

bbc1

राजश्व छली गरेको आरो

  काठमाडाैं / राजश्व छली गरेको आरोपमा तीन व

झापामा जङ्गली च्याउ

  झापा / झापाको कमल गाउँपालिका–५ मा व

देश भरका स्वास्थ्य स

  काठमाडाैं / संविधान दिवसका अवसरमा सरकारी

आजदेखि ब्लाष्ट दैनिक

धरान / आजदेखि ब्लाष्ट टाइम्स दैनिक २५ वर्षमा प्रवेश गरे


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved