ताप्लेजुङ/ ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा मोरङको डाँगीहाट क्लब प्रवेश गरेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै डाँगीहाट अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाइनल प्रवेशका लागि पर्याप्त बन्यो । खेलमा म्यान अफ दी म्याच डाँगीहाट क्लबका अरुण लिम्बू घोषित हुँदै नगद ५ हजार रुपैयाँसहित ट्रफी पाए ।

सोमबारको खेल एलेभेन एरोज सुनसरी र युकेएफसी दार्जिलिङ भारतबीच प्रतिस्पर्धा हुँदै छ । पहिलो चरणका खेल मङ्गलबार पूरा हुँदै छ । यसअघि फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै इलामको रेडहर्ष सेमिफाइनलमा प्रवेश गरिसकेको छ । बिहीबारदेखि जारी प्रतियोगिताको फाइलन भदौ ६ गते हुँदैछ ।

लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजनामा जारी प्रतियोगितामा भारतसमेत गरी १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजारसहित ट्रफी पाउनेछ । उपविजेताले नगद १ लाख ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।