बिर्तामोड/ झापाको बिर्तामोडमा ‘कपडा बैङ्क’ स्थापना भएको छ । झापामा सक्रिय तीनवटा संस्थाको अगुवाइमा कपडा बैङ्क स्थापना भएको हो ।

महिला उद्यमी सङ्घ नेपाल, रोटरी क्लब अफ बिर्तामोड र देवी पञ्चकन्या मर्निङ वाक ग्रुपको अगुवाइमा बिर्तामोडमा कपडा बैङ्क सञ्चालनमा आएको हो ।

‘मानवताको सेवा नै मनुष्य जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल नाराका साथ कपडा बैङ्क स्थापना भएको उनीहरूको भनाइ छ । पुराना कपडा सङ्कलन तथा वितरण गर्ने उदेश्यले कपडा बैङ्क स्थापना गरिएको कार्यक्रमका संयोजक सुरेशकुमार वंशलले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका मानिसलाई कपडा उपलब्ध गर्ने उद्देश्यले कपडा बैङ्कको स्थापना गरिएको वंशलले बताए । घरमा प्रयोग नभएका लत्ता–कपडाहरू ङ्ंकलन गरी कपडा बैङ्कमा प्रदान गर्न उनले आह्वान समेत गरेका छन् । विपन्न समुदायका नागरिकलाई निःशुल्क वितरण गरिने बताइएको छ ।

महिला उद्यमी सङ्घ झापाका अध्यक्ष गोमा भट्टराईले घरमा प्रयोग नभएका लत्ता कपडा निःशुल्क रूपमा बङ्ैकको वितरण कक्षमा उपलब्ध गराइदिन समेत सबैलाई आग्रहसमेत गरेकी छन् । कपडा बैङ्कको उद्घाटन गर्न भदौ ३ गते मङ्गलबार एक समारोह आयोजना गरी गरिने भएको छ ।

कार्यक्रममा देवी पञ्चकन्या मर्निङ वाक ग्रुपका अध्यक्ष मदनगोपाल सुब्बा, उद्योग बाणिज्य संघ बिर्तामोडमा अध्यक्ष कुमार भट्टराईलगायतका ब्यवसायीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । जाडोको मौसम नजिकिँदै गर्दा विपन्न समुदायका मानिसले ब्यहोर्नुपर्ने कष्ट समाधानका लागि कपडा बैङ्कको भूमिका महत्वपूर्ण रहने उनीहरूको भनाइ छ ।