धरान / सुनसरीको दक्षिणवर्ती बर्जु गाउँपालिकाले आफ्ना नागरिकका लागि नयाँ योजनाहरु ल्याएको छ । जेष्ठ नागरिक, गरिव दलित तथा सुत्करी महिलाहरुको हितमा नयाँ कार्यक्रम अघि सारेको हो ।
गाउँसभाबाटै पारित गरेर जेठ नागरिकलाई दाँत लगाई दिने, सुत्करी गराउन स्वास्थय केन्द्रमा आउने महिलालाई अण्डा उपहार दिने र दलित विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गराउने कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाका अध्यक्ष रघुनन्द चौधरीका अनुसार ६५ बर्ष माथिका नागरिकका दाँत लगाउन ८ लाख बजेट छुट्याएको छ । थोते हुन नपरोस भनेर जेष्ठ नागरिकका हकमा उपचारसहितको दाँत लगाइदिने कार्यक्रम ल्याएको उनले बताए ।
‘यस्तै नियमित स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्था पुग्ने गर्भवती महिलाका लागि अण्डा उपहार कार्यक्रमसमेत रहेको गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले बताए । नियमित स्वास्थ्य संस्थामा पुगी जाँच गराई आमा र शिशुको स्वास्थ्यप्रति सचेत हुन भनेर गाउँसभाबाट १० लाख बजेट नै विनियोजन गरेर सेवा शुरु गर्न लागेको हो ।
सरकारले लागु गरेको स्वास्थ्य विमाका लागि ३५ सय तिर्नु पर्ने हुन्छ । उक्त पैसा तिर्न नसकेर दलित, गरिव परिवार विमाबाट बञ्चित भएका कारण यो बर्षदेखि विमा गर्न नसक्ने स्थानीयको गाउँपालिकाले विमा वापतको पैसा तिरेर विमा गर्ने कार्यक्रम समेत अघि सारेको छ । गाउँपालिकाले ७ लाख बजेट छुट्याएर दलित परिवारको विमा गर्ने कार्यक्रम अघि सारेको हो । ‘स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपरोस भनेर विमा वापतको पैसा तिरिदिन लागेका हौं ।’–अध्यक्ष चौधरीले भने ।