धरान  / कारभित्र लुकाई लागु औषध ल्याउदैं गर्दा धरानबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयको टोलीले हिजो राती १० बजे धरान ८ तिनकुने कोशीराजमार्ग सडक खण्डमा इटहरीबाट धरान तर्फ आउदै गरेको को २ च १०२१ न।को कारमा लुकाई लागु औषधी ल्याउदें गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धरान–१५ का रुविन श्रेष्ठ र चालक धरान–२ का बनवरीलाल शर्मा रहेका छन् । उनीहरुको साथबाट कारको डिक्कीमा रहेको स्पेयर टायर भित्र हाली लुकाई ल्याएको लागु औषध डाईलेक्स २८ बोतल बरामद गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान थालिएको डिएसपी न्यौपानेले जानकारी दिए ।