धरान । धरानमा प्रदेश १ स्तरीय गोपाल गुप्ता स्मृति ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ ।

धरान–१३ स्थित अमर सेवा समाजको बहुउद्देश्य भवनको कोर्टमा भदौं ९ गते हुने आयोजक धरान मदिरा व्यवसायी सङ्घले जनाएको छ । प्रतियोगिता पुरुष डबल्सका इभेन्टस् हुने छन् । जसमा १६ वटा टिम सहभागी बन्ने अध्यक्ष नवीनकुमार तामाङले सोमबारको पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगितामा उदयपुर, सुनसरी, झापा, मोरङ, तेह्रथुमलगायतका जिल्लाका खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी पाउने छ । त्यस्तै दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले जनही ५–५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।

त्यस्तै अनुशासित खेलाडीले १५ सय रुपैयाँ र वेष्ट प्लेयरले १५ सय रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक तथा कोषाध्यक्ष रोशन गुप्ताले बताए । धरानका पुराना थोक बिक्रेता तथा सङ्घका संस्थापक गुप्ताको स्मृतिमा पहिलो पटक प्रतियोगिता गराउन लागिएको हो ।