इटहरी/ आइतबार चेक बाउन्समार्फत् १४ लाख ठगी गरेको भन्दै इटहरी प्रहरीले सुन्दरहरैंचाका ओमनारायण धामीलाई पक्राउ गर्यो । विराटचौकका गङ्गाबहादुर लिम्बूलाई धामीले इटहरीस्थित मेघा बैङ्कको १४ लाखको चेक दिएर ठगे ।

१४ लाख ठगेपछि इटहरी प्रहरीको शरणमा पुगेका लिम्बूले आफूलाई लामो समयदेखि ठगेपछि चेक बाउन्स गरेको सुनाए । ‘मलाई १४ लाखको लागि उनले ज्यादै दुःख दिए’ –उनले भने । चेक ठगीमा लिम्बू मात्र होइन । लामो समय कारोबारमा झुलाउन दिइने चेक बाउन्सले अहिले अधिकांश सोझासाझादेखि टाठाबाठासमेत ठगिँदै आएका छन् ।

केहीदिन अघिमात्र सुन्दरहरैंचाकी वर्षा कार्कीले इटहरीकी शान्ता राईलाई ५६ लाखको चेक दिएर ठगिन् । वर्षालाई प्रहरीले पक्राउ गरी उच्च अदालत विराटनगरमामा मुद्दा दायर गरेको थियो । पक्राउ परेकी वर्षाले धरौटी राख्न नसकेपछि उनी महिला कारागार विराटनगरमा पुर्पक्षका लागि थुनामा छिन् ।

त्यस्तै इटहरी–४ की दीपा गुरुङले दिएको २६ लाख ६५ हजारको चेक बैङ्कमा नसाटिएपछि इटहरीकी स्वेता श्रेष्ठको समुहले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिए । चेक बाउन्समै पक्राउ परेकी गुरुङ महिला कारागार विराटनगरमा पुर्पक्षको लागि थुनामा छिन् ।

इलाका प्रहरी कार्यालय इटहरीमा मुद्दा दर्ता गरिएकामध्ये १० जना भने फरार रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनीहरूबाट ७४ लाख ४५ हजार बराबरको बिगो दाबी गरिएको छ । पछिल्लो एक वर्षमा यस्ता दर्जनौं मुद्दा इलाका प्रहरीमा दर्ता भएका छन् ।

खातामा पैसा नभएको अवस्थामा चेक काट्दै सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ । पछिल्लो समयमा चेक बाउन्सको घटना इटहरी आसपासमा अत्यधिक भएको इलाका प्रहरी कार्यालय इटहरीको मुद्दा शाखाका सइ राजकुमार थापा बताउँछन् । उनले भने, ‘इटहरीमा अहिले समस्याका रूपमा चेक बाउन्स धन्दा मौलाएको छ । पछिल्लो पाँच महिनामा १९ वटा चेक बाउन्समा ९ जना विरुद्ध मुद्दा दायर गरेका छौं ।’

गत फागुनदेखि हाल सम्म १९ जनालाई पक्राउ गरिएको छ । ७ जना पुरुष र २ जना महिला गरी ९ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । यस्तो मुद्दा प्रदेश १ मा एक मात्र वाणिज्य इजलासले हेर्ने गरेको कारण विराटनगर पठाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरी कार्यालय इटहरीमा १ करोड ३६ लाख ६४ हजार बिगो बराबरको मुद्दा दर्ता भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले सर्वसाधारणहरू कारोबारमा आफूलाई ठगेको भन्दै उजुरी लिएर उल्लेखनीय मात्रामा आउने बताए ।

98उनले भने, ‘इटहरीमा ठगीमा परेको र बाउन्स चेक भएपछि सर्वसाधारणहरू न्याय माग्न प्रहरी कार्यालयमा आउने गरेका छन् । पैसा नभएको खाताको चेक काट्नेलाई बैङ्किङ कसूर गरेको प्रमाणित गर्दै प्रहरी कार्यालयमा आउनेहरूको सङ्ख्या बढ्दो छ’ उनी भन्छन्, ‘हामीले सर्वसाधारणको मर्कालाई बुझेर मुद्दा दर्ता गराएका छौं ।’