यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकामा झाडापखालाका कारण एक बालकको ज्यान गएको छ ।

झाडाले ग्रस्त बनेका कुम्मायक गाउँपालिका–५ का ४ वर्षीय सागर कटुवालको ज्यान गएको हो । मोटरसाइकलमार्फत् यासोक फार्मेसीमा ल्याइपुर्याएको केही समय नबित्दै ज्यान गएको छ । उपचारको लागि तयारी गर्दा गर्दै उनले प्राण त्यागेको उनको आमा दुर्गा कटुवालले बताइन् । त्यो घडीमा उनी भावविह्वल बनिन् ।

आइतबार बेलुकाबाट झाडापखालाले ग्रस्त बनाएको शिशुको उपचारको लागि परिवारले सोमबार बिहान मात्रै मोटरसाइकल खोजेर उपचारको लागि यासोक बजार लगेका थिए । तर अन्तिम अवस्थामा शिशुलाई ल्याएकाले शिशुको ज्यान जोगाउन नसकिएको अहेव रोहन घिमिरेले बताए । शरीरमा पानीको मात्रा कम भएको बताउँदैत्यस अवस्थामा शिशुलाई बचाउन धेरै ढिलो भइसकेको घिमिरेले बताए । समयमै स्वास्थ्य संस्थामा उपचारका लागि नपु¥याउँदा धेरैले अकालमै ज्यान गुमाउनु परेको छ ।

गाउँघरमा धेरैजसो बालबालिका यसको शिकारमा पर्ने गरेका छन् । साउन र भदौ महिनामा मात्रै भाइरल ज्वरो र झाडापखालाका बिरामीहरूको सङ्ख्या बढेको छ । स्वास्थ्य चौकी यासोकमा दैनिक ३ देखि ४ जना झाडापखालाका बिरामीहरू उपचारको लागि पुग्ने गरेका छन् । यो समस्या बालबालिका र बूढापाकामा बढी देखापरेको छ ।

शुरु–शुरुमा रुघाखोकी लाग्ने, टाउको र ज्वरो आउने, हातगोडा कट्कटी खाने समस्याका बिरामीको सङ्ख्या अत्यधिकरूपमा बढेको यासोक स्वास्थ्य चौकीका अहेव देवेन्द्र थेवेले बताए । भाइरलका कारण बालबालिका र बूढापाकामा बढी जोखिम हुने भएकाले यो समस्या देखापर्नासाथ नजिकैको स्वास्थ्य चौकीमा उपचार गराउनुपर्ने उनको भनाइ छ । यस्तो अवस्थाका बिरामीले घरमा पनि गेडागुडी र झोलिलो खानेकुरा खानुपर्ने, पानी शुद्धीकरण गरेर खानुपर्ने चिकित्सकको सुझाव छ ।