धरान / उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । बेलका नगरपालिका – ५ निवासी तीर्थ आलेमगरले श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको हो ।
गत राती १० बजे घरायसी बादविबादको कारण ३० वर्षीय किमन्जु आले पुलामी मगरलाई उनका श्रीमानले कुटपीट गरेका थिए । श्रीमानको कुटाईबाट गम्भिर घाईते भएको मगरलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको घरायसी सामान्य विवाद भएको स्थानीयले बताएकाे उदयपुर समाचारदाताले जानकारी दिएका  छन् ।

यता बिर्तामोड समाचारदाताका अनुसार  झापाको मेचीनगरमा मादक पदार्थ सेवन गरेका एक ब्यक्तिले हम्मर प्रहार गरी आफ्नै साथीको हत्या गरेका छन् ।
मेचीनगर–९ कुर्सी फारम बस्तीका ६३ बर्षका तेजबहादुर लिम्बुले सोही ठाउँका ६५ बर्षीय प्रेम लकान्द्रीको टाउकोमा फलामको हम्मरले प्रहार गरेका थिए । लिम्बुको प्रहारबाट गम्भीर घाइते भएका लकान्द्रीको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लिम्बु र लकान्द्रीबीच के बिषयमा बिवाद भएर उनले हम्मर प्रहार गरेका थिए भन्ने खुलेको छैन् । झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले लिम्बुलाई नियन्त्रणमा लिएर अनुसंधान शुरु गरेको जानकारी दिए ।