उदयपुर/ पछिल्लो समयको एक तथ्याङ्कले लागूऔषध दुव्र्यसनमा किशोरहरू फस्दै गएको देखाएको छ । लागूऔषध दुव्र्यसनमा १६ वर्षदेखि २० वर्षका किशोरहरू बढी संलग्न रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो ।

प्रहरीको तीन वर्षको लागूऔषध ओसार–पसार तथा सेवनकर्ता पक्राउ र मुद्दाको विवरण हेर्ने हो भने पछिल्लो समयमा आएर किशोर अवस्थाका युवाहरू लागूऔषधमा बढी संलग्न रहेको पाइएको छ । आर्थिक वर्ष २०७३/७४ मा ४२ जना पक्राउ परेकामध्ये ३९ जना सेवनकर्ता र ३ जना व्यापारी वा भण्डारक पक्राउ परेको तथ्याङ्कले देखाएको छ भने २३ जनालाई अदालतमा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा १ सय ६३ जना पक्राउ परेकामध्ये १ सय ५३ जना सवेनकर्ता र १० जना व्यापारी वा भण्डारक रहेको छ भने ९१ जनालाई अदालतमा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । त्यसैगरी गत आर्थिक वर्ष २०७५/७६ मा ८४ जना पक्राउ परेकामध्ये ७८ जना सेवनकर्ता र ६ जना व्यापारी वा भण्डारक रहेका छन् भने ५३ जनालाई अदालतमा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ ।

पक्राउ परेकामध्ये आर्थिक वर्ष २०७३/७४ मा १६ वर्षदेखि २० वर्षसम्मका ४ जना, २१ वर्षदेखि २५ वर्षसम्मका १७ जना, २६ वर्षदेखि ३० वर्षसम्मका १३ जना र ३१ वर्षभन्दा माथिका ८ जना रहेको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७४/७५ मा १६ वर्षदेखि २० वर्षसम्मका ५७ जना, २१ वर्षदेखि २५ वर्षसम्मका ३६ जना, २६ वर्षदेखि ३० वर्षसम्मका ४८ जना र ३१ वर्षभन्दा माथिका २२ जना पक्राउ परेको तथ्याङ्कले देखाएको छ । त्यस्तै गत आर्थिक वर्ष २०७५/७६ मा १६ वर्षदेखि २० वर्षसम्मका ३९ जना, २१ वर्षदेखि २५ वर्षसम्मका १९ जना, २६ वर्षदेखि ३० वर्षसम्मका ६ जना र ३१ वर्षभन्दा माथिका २० जना पक्राउ परेको तथ्याङ्कले देखाएको छ ।

उक्त उमेर भनेको भर्खर एसईई दिने वा दिएर प्लस टु पढ्दै गर्ने उमेर हो । तर पछिल्लो समयमा आएर विद्यार्थी जीवनमा लागू औषधमा फस्दै गएको तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्कले युवा र राष्ट्रको भविष्य खतरामा पर्ने देखाएको छ ।

चुरोट, खैनीबाट शुरु गरेको कुलत लागूऔषधमा परिवर्तन हुने गरेकोे प्रारम्भिक बयानले देखाएको प्रहरीले जनाएको छ । चुरोटबाट गाँजा हुँदै औषधिजन्य विभिन्न लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । सीमापारिबाट ल्याउने नाइट्रोजन, डाइजोल्याव, लुपिजेसिक, फेनारगन, नोर्फिन, ब्रुपिनेर्फिनलगायतका लागूऔषध बढी प्रयोग गर्ने र पक्राउ पर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित निकाय तथा सङ्घ–संस्थाहरूले लागूऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा अभियान नै सञ्चालन गरे पनि खासै प्रभाव पारेको यस तथ्याङ्कले देखाउँदैन । अभियान र कार्यक्रमले न्यूनीकरण हुनुपर्नेमा अझ किशोर अवस्थाका युवाहरू लागूऔषधको दल–दलमा फस्दै गएको तथ्याङ्कले देखाएको छ ।