धरान/ सम्झौताअनुसार टेण्डर पार्ने कम्पनीहरूले मर्मत–सम्भार नगरिदिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लाण्टमा गरेको लगानी बालुवामा पानी भएको छ । प्रतिष्ठानमा रहेको सानो प्लाण्टले पर्याप्त अक्सिजन आपूर्ती गर्न नसकेपछि ६ महिनाअघि मात्र १६ सय लिटर प्रतिमिनेट उत्पादन गर्ने अक्सिजन प्लाण्ट जडान गरेको थियो । प्रतिष्ठानमा भारतको युनिषी इण्डिया र नेपालको डाइग्नोकेनको संयुक्त कम्पनीले अक्सिजन प्लाण्ट जडान गरिदिएको थियो ।

३ करोड २४ लाख रुपैयाँ लागत खर्च भएको उक्त प्लाण्ट पनि बिग्रिएर बन्द भएपछि अक्सिजन प्लाण्टमा लगानी बालुवामा पानीसरह भएको हो । त्यसो त उक्त प्लाण्ट गत माघ २४ गते जडान गरेर उद्घाटन भएको दुई दिनमै एउटा अक्सिजन जेनेरेटर उपकरण बिग्रिएको थियो । एउटा अक्सिजन जेनेरेटर बिग्रिएपछि प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्नुपर्नेमा मुस्किलले आधामात्र उत्पादन गर्दै आएकोमा महिना दिनअघि एकसाथ अक्सिज सिलिण्डर फिलिङ सिस्टम, अक्सिजन जेनेरेटर, एयर ड्रायर, प्लाण्टको सर्वो स्टेब्लाइजर कामै नलाग्ने गरी बिग्रिएपछि अक्सिजन प्लाण्ट खरिदको टेण्डरमा शङ्का उत्पन्न भएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

आफ्नै अक्सिजन प्लाण्ट बिग्रिएपछि प्रतिष्ठानलाई अक्सिजन आपूर्ती गर्न दैनिक ७० हजार रुपैयाँ अतिरिक्त व्ययभार भएको अस्पताल निर्देशक प्रा.डा.गौरिशङ्कर साहले बताए । प्रतिष्ठानले सुनसरीको खनारस्थित दुर्गा अक्सिजन प्लाण्टबाट अक्सिजन आपूर्ति गर्र्दै आएको छ । यसैबीच दुर्गा अक्सिजन प्लाण्टले पनि पर्याप्त सिलिण्डर उपलब्ध गराउन नसक्दा प्रतिष्ठानमा अनिवार्य अक्सिजन चाहिने कतिपय बिरामीलाई वार्ड भर्ना गर्न नसकेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

प्रतिष्ठानमा भारतीय कम्पनी युनिषी इण्डियाले उपलब्ध गराएको २ सय ८० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने सानो स्केलको पुरानो प्लाण्ट मर्मत–सम्भार गरे पनि बन्न नसक्ने भएपछि पूर्व उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासको पालामा टेण्डर आह्वान गरिएको थियो । प्लाण्टको टेण्डर काठमाडौंका विज्ञान अर्यालको डाइग्नोकेन प्रालि र युनिषी इण्डियाको संयुक्त कम्पनीले पारेको थियो ।

टेण्डर पारेको १ सय २० दिनभित्र प्लाण्ट जडान गरिसकेर परीक्षण र सञ्चालन गर्नुपर्ने प्रतिष्ठानसँग सम्झौता भए पनि युनिषी र डाइग्नोकेनले ०७५ असार–साउनसम्म अक्सिजन प्लाण्टका उपकरण ल्याएनन् । पूर्व उपकुलति दासले अक्सिजन प्लाण्टको भुक्तानी डाइग्नोकेन र युनिषीलाई अग्रिमरूपमा शतप्रतिशत दिइसके पनि प्रतिष्ठानमा उपकरण जडान नभएपछि पछिल्ला पदाधिकारीहरूले ताकेता गर्दा ०७५ भदौमा मात्र उपकरण ल्याएर चौरमा ६ महिनासम्म बेवारिसे अवस्थामा छाडेका थिए ।

टेण्डर पार्ने कम्पनीहरूले अक्सिजन प्लाण्ट जडान नगरिदिएपछि प्रतिष्ठान प्रशासनले डाइग्नोकेन र युनिषीलाई कारबाहीस्वरूप कालोसूचीमा राख्ने चेतावनी दिँदै ती कम्पनीमा उपकरण आपूर्ति गर्ने निर्माता कम्पनीहरू स्लोभाकियाको अक्सिजन जेनेरेटर निर्माता कम्पनी अक्सिवाइज, जर्मनीको एयर कम्पे्रसर निर्माता केजर, अमेरिकाको अक्सिजन बुस्टर निर्माता आरआइएक्स र इटालीको मेनिफोल्ड निर्माता एफडी कम्पनीलाई बेग्ला–बेग्लै पत्रसमेत लेखेर प्लाण्ट जडान नभएको जानकारी दिइएको थियो ।

चर्को दबावपछि पनि डाइग्नोकेनका विज्ञान अर्यालले वास्ता गरेनन् भने युनिषीले आफ्नो प्राविधिक पठाएर प्लाण्ट जडान गरिदिएको थियो । तर दुई दिनमै एउटा अक्सिजन जेनेरेटरभित्र रहेको जिओलाइट दाना धुलोमा परिणत भएर बिग्रिएपछि अर्को जेनेरेटरलेमात्र आधाभन्दा कम अक्सिजन उत्पादन गर्दै आएको थियो । सम्झौताअनुसार अक्सिजन उत्पादन नभएपछि टेण्डर पार्ने कम्पनीहरूलाई फेरि ताकेता गर्दा गर्र्दै महिना दिनअघि अर्को पनि अक्सिजन जेनेरेटर बिग्रिएपछि प्रतिष्ठानको ३ करोड २४ लाख स्वाहा भएको हो ।

जडान गरेको ६ महिनामै नयाँ अक्सिजन प्लाण्ट बिग्रिएपछि प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले भने, ‘हाललाई अरूतिरबाट किनेर अक्सिजन आपूर्ति गरिरहेका छौं । बिग्रिएको अक्सिजन प्लाण्ट मर्मत गर्न दुई साता लाग्न सक्छ ।’ प्रतिष्ठान स्रोतले भने सम्झौताअनुसार प्लाण्ट जडान नभएको भन्दै युनिषीलाई दबाव दिन नेपालस्थित भारतीय दूतावासलाई पत्राचार गर्ने तयारी गरेको जनाएको छ ।

डाइग्नोकेनका विज्ञान अर्यालले प्रतिष्ठानले आफूसँग कहिल्यै सम्पर्क नगरेको बताएका छन् । उनले बिग्रिएको प्लाण्ट बनाउने दायित्व आफ्नो भए पनि आफूलाई बाइपास गरेर युनिषीलाई मात्र पत्र लेखेको आरोप लगाए । उनले प्रतिष्ठानका निमित्त उपकुलपति डा. खनालसँग अक्सिजन प्लाण्टबारे जानकारी लिएर मर्मत–सम्भार गरी एक साताभित्र अक्सिजन उत्पादन गर्ने बताए ।