विराटनगर । विराटनगरमा आज (शनिबार) साढे तीनबजे ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदैछ । यस पटक निकालिने ५२ औं रथयात्रा हो । विराटनगर– १ राधाकृष्ण मन्दिरपरिसरमा विशेष पूजाआजा गरेपछि रथयात्रा निस्किनेछ ।

मोरङ प्रहरीले रथयात्राका दिन कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना अगाडि सारेको छ । मोरङ प्रहरीले ड्रोन क्यामराबाट महानगरपालिकाको सुरक्षा निगरानी गर्ने जनाएको छ । हजारौंको सङ्ख्यामा भक्तजनहरू रथयात्रामा सहभागी हुने भएकोले सुरक्षालाई विशेष प्राथमिकतामा राखेर प्रहरीले ड्रोनबाट पनि सुरक्षा निगरानी राख्ने भएको हो । यसको लागि प्रहरी प्रधान कार्यालय काठमाडौंबाट विज्ञ टोलीसहित ड्रोन क्यामरा टोली आएको मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

शुक्रबार साँझ विराटनगरस्थित राधाकृष्ण मन्दिरअगाडि ड्रोन क्यामराको पनि सफल परीक्षण गरिएको उनले बताए । ‘ड्रोन क्यामराको पूर्वतयारी गरेका छौं’ उनले भने, ‘सफल परीक्षण पनि भयो ।’ महानगर क्षेत्रमा गरिने ड्रोनको मनिटर जिल्ला प्रहरी कार्यालय मोरङमा हुनेछ । ‘कुनै पनि अप्रिय घटना घटाउने र शङ्कास्पद व्यक्ति देखिए तत्काल प्रहरी परिचालन गरी नियन्त्रणमा लिनेछौं’ –उनले भने । उनका अनुसार रथ विश्राम गरिने प्रत्येक युनिटमा प्रहरी टोली खडा गरिएको उनले बताए ।

रथयात्राको दिन सुरक्षाको लागि १७ सय प्रहरी परिचालन गरिनेछ । २ सयजना सादा पोसाकका र १ हजार ५ सय जना वर्दीका प्रहरी परिचालन गरिएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले बताए ।
रथयात्राको प्रदेश १ का प्रदेश प्रमुख डा.गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राईसहित अन्य मन्त्री र विशिष्ट व्यक्तित्वहरूले पूजाआजा गरेपछि राधाकृष्ण मन्दिरबाट रथ निस्किनेछ । नेपालका विभिन्न शहरसहित भारतको विहार र पश्चिम बङ्गालका हजारौं भक्तजन विराटनगरमा करिब पाँच लाख प्रत्यक्ष रूपमा सहभागी हुने आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । सो रथयात्रा एशिया महादेशकै सबैभन्दा ठूलो जगन्नाथपुरीपछिको दोस्रो ठूलो रथयात्राको रूपमा चिनिने गरेको छ ।

यस पटक प्यागोडा शैलीको भव्य रथलाई दायाँ–बायाँ अलग–अलग महिला–पुरुषले तानेर रथ गुडाउँनेछन् । रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट रहेको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि फैलिएको डोरी रहेको छ । दायाँपट्टिको डोरीमा पुरूष र बायाँँपट्टिको डोरीमा महिला भक्तजनहरूले तानेर उक्त रथ सञ्चालन गर्ने परम्परा छ । हेलिकप्टरबाट एक क्विन्टल फूलको पुष्पवृष्टि गराइने लक्ष्य रहेको राधाकृष्ण रथयात्रा समारोहका अध्यक्ष बाबुराजा ओझाले बताए ।

तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट विशेष पूजाआजापछि निस्कने रथयात्राले नगर परिक्रमा गर्दछ । राधाकृष्ण मन्दिरबाट आरम्भ भई ७ किलोमिटर दूरी तय गरेर मेनरोड, महेन्द्र चोक, धरान रोड र वरगाछी हुँदै पुनः मन्दिर परिसरमा रथ ल्याइनेछ ।