धरान/ब्रिटिस काउन्सिलले प्रदान गर्ने विद्यालय शिक्षा पदक (आइएसए) अवार्ड धरानको आइडियल बोर्डिङ स्कुलले प्राप्त गरेको छ ।

१० वटा स्थानीय पाठ्यक्रमलाई प्रयोगात्मक तरिकाले प्रस्तुत गरेपछि विभिन्न स्कुलमध्ये आइडियल पर्न सफल भएको हो । अवार्ड भदौं ४ गते काठमाडौंमा प्रदान गरिएको थियो । विश्व नागरिक उत्पादन गर्ने लक्ष्यसहित ब्रिटिस काउन्सिलको शिक्षा विभागबाट यो कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । यो विश्वका ४१ वटा देश काउन्सिलमा दर्ता रहेका छन् । दर्ता रहेका देशहरूका स्कुलहरूले विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको व्यक्तित्व विकाससँग सम्बन्धित विषयहरूलाई समेटेर प्रयोगात्मक कार्यक्रम गर्ने गरेको विद्यालयका निर्देशक सागर खड्काले जानकारी दिए ।

उनका अनुसार प्राथमिक उपचार, साइबर क्राइम, स्थानीय धार्मिक सांस्कृतिक स्थलको संरक्षण सम्वद्र्धन गर्ने तरिका, भूकम्प, बाडी पहिरोलगायतका प्राकृतिक प्रकोप र तिनबाट जोगिन अपनाउनु पर्ने सावधानी, स्थानीय रूपमा पाइने जीव जनावर र तिनको संरक्षण, आफ्नो सांस्कृतिक पोसाक को पहिचान र प्रवद्र्धन, नेवारी खाजा समयबजी बनाउने तरिका, संस्कृतिमा मिसिएका विकृति तथा विद्युतीय साक्षरताबारेमा प्रयोगात्मक पाठ्यक्रमको आधारमा आइडियल छनौट भएको हो । धरानको दन्तकाली मावि, र ज्योति प्राविसँग प्रत्यक्ष तथा बेलायतको सेन्ट जोसेफ हाइस्कुल, सेन्ट मेरी प्राइमरी स्कुल, पब्लिक हाइस्कुल र गभरमेन्ट गल्स हाइस्कुलसँग प्रयोगात्मक रूपमा सिक्ने सिकाउने कार्ययोजना सम्पन्न गरिएको थियो ।

स्कुललाई बेलयाती राजदूत रिचर्ड मोरिस र शिक्षा मन्त्रालयका सचिव खगराज बरालले विजेता विद्यालयलाई अवार्ड प्रदान गरे । आइएसए कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरका सिकाइका विधि, पद्धति अवलम्बन गर्दै विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता विकास गर्ने काम गर्ने प्रिन्सिपल भरत खड्काले बताए ।