विराटनगर/ विराटनगरमा शनिबार निस्किएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पकेटमारदेखि उश्रृंखल गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रथयात्राको समयमा भिडभाडमा उश्रृंखल गतिविधि गर्ने र भक्तजनहरूको मोवाइल पर्स चोरी गर्न खोज्नेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

‘भिडभाडको मौका छोपी संकास्पथ गतिविधि गर्नेहरूलाई हामीले नियन्त्रणमा लिएका छौं,’ एसपी अधिकारीले भने, ‘कुनै पनि अप्रिय घटना हुन नदिने नियन्त्रणमा लिएका हौं ।’ उनीहरुको गरेको घटनाको अवस्था हेरेर छोडने वा अनुसन्धान गरि प्रक्रिया अगाडी बढाउने प्रहरीले तयारी गरेको छ ।

प्रहरीले रथयात्रामा सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाका लागि मोरङ प्रहरीले १७ सय नेपाल प्रहरी र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको एसपी विश्व अधिकारीले जानकारी दिए ।

रथयात्रामा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी गरेको कारणले अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । प्रहरीले महानगर क्षेत्रको होटलहरूमा शनिबार मधिराजन्य पद्धार विक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको थियो । प्रहरीले रथयात्रा विश्राम गर्ने प्रत्येक स्थलमा प्रहरी युनिट खडा गरेको थियो ।

रथ निस्किने मन्दिर परिसर र बोर्डर ऐरियामा विशेष युनिट खडा गरि सुरक्षा योजना पनि अगाडी सारेको थियो । रथयात्राको दिन धेरै भिडभाड हुने भएकोले उश्रृखल गतिविधि गर्नेको संख्या पनि हुने भएकोले प्रराम्भिक अनुसन्धान टोली पनि फिल्डमा खटाएको एसपी अधिकारीले बताए । महानगरको ४० स्थानमा सिसी क्यामारा सुचारु गरेकोले सिसी क्यामराबाट पनि निगरानी गरिएको थियो ।

प्रहरीले रथयात्रालाई लक्षित गरि मोरङ प्रहरीले २४ साउन देखि महानगर क्षेत्रमा विशेष निगरानीमा राखेको छ । यस क्रममा प्रहरीले १ सय ७६ जनालाई विशेष निगरानीमा राखेको थियो ।