विराटनगर/ शुक्रबार दिउँसो मोरङमा धनपालथानमा ३६ डिग्रीसम्म तापक्रम थियो । चर्को घामले कक्षा कोठा हपहपी गर्मी थियो । स्कूल पढ्न आएका विद्यार्थीको सट पसिनाले निथु्रकै भिजेको छ । अत्याधिक गर्मी भएपछि केही विद्यार्थीले लगाएको आफ्नो सट खोलेर नाङ्गै स्कूल परिसर बाहिर सिटको बेन्चमा बसेर पढ्न शुरु र्गछन् । कोही स्कूल नजिकको पिपलको छाहारी मुनि पलैंटी कसेर अध्ययन गर्न व्यस्त हुन्छन् । छाहारी मुनि कक्षा ४ र ५ का दुई दर्जन विद्यार्थीको बीचमा दुई जना शिक्षिका छन् । उखरमाउलो गर्मीमा कक्षा कोठामा पङ्खा नहुँदा विद्यार्थी स्कूल परिसर भित्र रहेको ट्युबबेलबाट पानी निकालेर टाउको र जिउ भिजाउँदै कक्षा कोठा भित्र पस्छन् र पढ्न व्यस्त देखिन्छन् ।

मोरङको धनपालथान –६ कदमास्थित श्री पिण्डेश्वर आधरभूत विद्यालयमा शुक्रबार देखिएको दृश्य हो यो । अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरू स्कूल निजक रहेको पिपलको छाहारी मुनि राखेर विद्यार्थीहरूलाई अध्यापन गराउने गरिएको शिक्षिका कमला कुमारी खड्काले बताइन् । ‘गर्मीले कक्षा कोठाभित्र बसिनसक्नु छ,’ उनले भिनन्, ‘विद्यार्थी पनि गर्मीले पढन गाह्रो भयो भन्दै कराउँछन् । शीतलताको खोजीमा नजिकको पिपलमुनि अध्ययन गराएका हौं ।’ टिफिन पछाडि १ बजेदेखि ४ बजेसम्म २ वटा कक्षाको समूह बनाएर विद्यार्थीहरूलाई छाहारी मुनि पढाउने गरेको उनले बताइन् । ‘खुल्ला ठाउँमा हावा पनि आउँछ । घामको राप पनि त्यती हुँदैन । विद्यार्थीले पनि पिपलको छाहारी मुनी पढौं भन्छन्, त्यही भएर हामीले बाहिर पढाएका हौं,’ उनले भनिन् ।

गर्मी बढेको र पढ्न आउने विद्यालयको कक्षा कोठामा पङ्खा नहुँदा विद्यार्थीको सङ्ख्यामा पनि कमी आएको छ । पिण्डेश्वर आधरभूतको विद्यालयको कक्षा ४ मा २७ र ५ मा २४ जना विद्यार्थी छन् । तर, शुक्रबार २२ जना मात्र विद्यार्थी स्कूल आएका थिए । गर्मी बढेको कारणले गर्दा पनि विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा कमी आएको शिक्षिका खड्काले बताइन् । कक्षा चारमा अध्ययरत विक्रम महतोले अत्याधिक गर्मी भएको बेला ट्युबवेलबाट पानी निकालेर टाउको र जिउ भिजाएर पढ्ने गरेको बताए ।

‘टाउको र जिउ पानीले भिजाउँदा पनि केही घण्टा राहत महसुस हुन्छ,’ टाउको भिजाएपछि सट खोलेर बेन्चमा बसेका विक्रमले भने, ‘धैरे गर्मी भएको बेला हामी यसरी नै पढ्ने गरेका लामो समय भइसक्योे ।’ विद्यालयमा पङ्खा नहुँदा धेरै समस्या हुने गरेको कक्षा ३ मा अध्ययरत मुकेश महतोले बताए । ‘कक्षा कोठा भित्र पङ्खा भए हामीलाई पढ्न धेरै सजिलो हुने थियो,’ उनले भने, ‘अहिलेसम्म स्कूलले बिजुली जोड्न सकिएको छैन । जसले गर्दा बाध्य भएर हामी खुल्ला चौरमा पढ्ने गरेका छौं ।’ विद्यार्थीहरूले स्कूलका प्रधानध्यापक र व्यवस्थापकलाई कक्षा कोठा भत्र पंखा जोड्न आग्रह गरेकोे वर्षौं भइसक्दा पनि जडान हुन नसकेको उनीहरूले बताए ।

कक्षा पाँचसम्म पढाइ हुने उक्त विद्यालयमा १ सय ५० जना विद्यार्थीहरू रहेको स्कूलका प्रधानध्यापक सुमेरप्रसाद सहनीले बताए । उनका अनुसार सिमान्तकृत, दलित र पिछडा सामुदायका आर्थिक अवस्था नाजुक भएका घरपरिवारका छोराछोरीहरू अध्ययन गर्न आउने गरेको बताए । यस स्कूलमा सहनी, सतार र महतो सामुदायका विद्यार्थी अध्ययरत छन् । जसमध्ये सहनी सबैभन्दा बढी रहेको स्कूलका प्रधानध्यापक सहनीले जानकारी दिए ।

विद्यालयसँग बजेट नभएको र स्थानीय तहसँग माग गर्दा पनि हालसम्म बजेट आउन नसक्दा कक्षा कोठामा पङ्खा जोड्न नसकेको उनले बताए । ‘स्कूलको आम्दानीको स्रोत पनि छैन,’ उनले भने, ‘स्थानीय तह र विभिन्न निकायमा पङ्खा जोड्न निवेदन हालेका छौं । सुनवाइ भएको छैन ।’ २०४९ सालमा स्थापना भएको उक्त विद्यालयमा १५ कठ्ठा क्षेत्रफलमा छुट्टाछुटै २ वटा भवनमा ७ वटा कोठा रहेका छन् । एउटा पूर्व प्राथमिक कक्षासहित ५ वटा कक्षा कोठा छन् भने एउटा कोठामा कार्यालय रहेको छ । कुनै पनि कक्षा कोठामा पङ्खा छैन । पङ्खा नहुँदा गर्मीयाममा पठन–पाठनमा गाह्रो पर्ने गरेको छ ।

Gormi-l-a-2 Ruk-muni-student-2