धरानमा देखिएको डेङ्गु नियन्त्रण गर्न सकिएन भने यसले अझै गम्भीर महामारीको रूप लिने सम्भावना छ । यसको बारेमा जनचेतना त छ तर रोकथामको पाटोमा भने व्यक्ति आफैले सजग हुनु महत्वपूर्ण हुन्छ । डेङ्गु नियन्त्रणमा सरकारी तहबाट सहयोग पुग्नु नै नियन्त्रणको पहिलो सिँढी हुनजान्छ । लामखुट्टे नियन्त्रण गर्ने विभिन्न तरिकाहरू छन् ।

त्यसबारे जनसमुदायमा चेतना पु¥याउनु आवश्यक छ । केही महत्वपूर्ण तरिकाहरू जुन अन्य देशहरूमा अपनाइएको छ । त्यसको बारेमा बुझ्न जरुरी छ । डेङ्गु नियन्त्रण गर्ने सबभन्दा प्रभावकारी माध्यम भनेको रोग सार्ने लामखुट्टे नियन्त्रण गर्नु हो । लामखुट्टे नियन्त्रण धेरै तरिकाले गर्न सकिन्छ– जस्तैः कीटनाशक विषादी छरेर, विषादीसहितको झुलको प्रयोग गरेर, पर्दा लगाएर, घरमा विषादी छर्केर लामखुट्टेको नियन्त्रण गर्ने गरिन्छ तर यसले गर्दा विषादीबाट नमर्नेखालको लामखुट्टेको समेत वृद्धि भई भविष्यमा यस्ता लामखुट्टेले असर पुर्याउन सक्छ ।

फगिङ मात्रले लामखुट्टेको नियन्त्रण गर्न गाह्रो पर्छ । जनता आफैले सजग भई लामखुट्टेले फुल पार्ने सफा पानी जम्न दिनु हुँदैन । खानेपानी छोपेर राख्नु पर्दछ । लामखुट्टे नियन्त्रणका अरू उपायहरू बारे विश्व स्वास्थ्य सङ्गठन तथा सेण्टर फर डिजिज कण्ट्रोल एण्ड प्रिभेन्सन (सि.डि.सी.) अमेरिकाले गरेको अध्ययन र अनुसन्धानका तथ्यहरूबाट हामीले पनि केही सिक्न जरुरी छ । लामखुट्टे नियन्त्रण गर्ने अर्को महत्वपूर्ण तरिका भनेको ओभी ट्राप ( लार्भा नष्ट गर्ने ) र मस्कुइटो ट्राप लामखुट्टे नष्ट गर्ने विधि हो ।

जसले गर्दा विषादी प्रतिरोध गर्नसक्ने लामखुट्टेहरू पनि नियन्त्रण गर्न सकिन्छ । सिडिसीको एक प्रतिवेदनअनुसार ओभिट्राप विधिको प्रयोगबाट सन् २०१४ मा साउथेन पोटोकिमा एडिस इजिप्टाई लामखुट्टेको ८०५ ले सङ्ख्या घटेको पाइएको थियो । धरानमा पनि यो प्रविधिको प्रयोग गरिनु आवश्यक छ । यसको प्रयोगबाट वातावरण, जीवजन्तु तथा मनिसलाई कुनै असर पर्दैन । त्यसैले जनतालाई फगिङका साथै ओभी ट्राप र लामखुट्टे ट्रापको विषयमा जानकारी दिनु अत्यन्तै जरुरी छ । यसको प्रयोग विकसित राष्ट्रहरू सिङ्गापुर, अमेरिका र अन्य मुलुकहरूमा समेत भइरहेको पाइएको छ ।

के हो ओभिट्राप तथा लामखुट्टे ट्राप ?
लामखुट्टेलाई आकर्षण गरी फुल पार्न लाउने र लामखुट्टे तथा लार्भा दुवैको अध्ययन गर्ने विधि नै ओभी ट्राप विधि हो । यो लामखट्टेको सर्वेक्षण र व्यवहार तथा आचरण अध्ययन गर्नका लागि प्रयोगमा ल्याइएको थियो ।

यसको सिद्धान्त भनेको लामखुट्टेलाई फुल पार्न आउन आकर्षित गर्ने हो । जब लामखुट्टे फुल पार्न आउँछ र फुल पारिसकेपछि लामखुट्टे उडेर जाँदा त्यस समयमा उक्त लामखुट्टेलाई त्यहीँ पक्रिने विधि हो । ओभिट्राप कुनैले लार्भा मार्ने, कुनैले टाँसिने वस्तुको प्रयोग गरी लामखुट्टे नै समात्ने गर्छन् भने कुनैले लामखुट्टे र लार्भा दुवै मार्ने गर्दछ । यसमा लामखुट्टेलाई आकर्षित गर्ने सफा पानीको प्रयोग गरिन्छ ।

लामखुट्टे पक्रने विधिमा मानिसको छालाको गन्ध, प्रकाश वा अन्य कुनै माध्यमबाट लामखुट्टेलाई आकर्षित गरी नष्ट गर्ने गरिन्छ। ओभी ट्राप र लामखुट्टे ट्राप वातावरणमैत्री, कम लगानी तथा सहजै एक ठाउँबाट अर्को ठाउँमा लान सकिन्छ। यो विधिको प्रयोग निरन्तररूपमा केही समयसम्म गरियो भने डेङ्गु नियन्त्रणमा ठूलो सफलता प्राप्त गर्न सकिन्छ। यसका लागि सम्बन्धित निकायहरूले अझै पनि ध्यान नदिए भविष्यमा आउने अन्य धेरै चुनौतीहरूको सामना गर्नुको विकल्प छैन ।


(लेखकः केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विषयका लेक्चरर हुन् ।)