दमक/ झापाको गौरीगञ्ज गाउँपालिका–१ झोडास्थित होकलवाडीका १७ वर्षीय तालामई हेमरम (संथाल) ले विद्यालय छोडेको अहिले पाँच वर्ष भयो । उनी अहिले दैनिक ज्याला मजदुरी गर्न थालेका छन् । ‘कक्षा ६ मा पढ्दा सबै विषयमा फेल भएपछि विद्यालय जान छाडेँ’ उनले भने, ‘घरदेखि बनियानी खोलापारि रहेको बालकल्याण माविमा पढ्दैथिएँ, सबै विषयमा फेल भएँ, त्यसपछि विद्यालय जान लाज भयो । एक महिना पूरा विद्यालय लाग्दा म मुस्किलले १० दिन जति मात्र जान्थेँ ।’

उनीजस्तै सोही स्थानकी १९ वर्षीया लक्ष्मी हेमरम, वर्ष १८ की जमुना हस्ता, वर्ष २० का लुगु सोरेन, वर्ष १८ का मक्लु सोरेनलगायतका कोही पनि अहिले विद्यालय जाँदैनन् । उनीहरूले कसैले कक्षा ६ देखि त कसैले कक्षा ५ देखि नै पढाइ छाडेका छन् । यो गाउँका अधिकांश सन्थाल समुदायका बालबालिकाले अध्यायन पूरा नगरी बीचैमा विद्यालय छोड्ने गरेका छन् ।

त्यसो त यो गाउँका मात्र होइन, झापाका अधिकांश सन्थाल बालबालिकाले कक्षा ५ देखि नै विद्यालय छोड्ने गरेको पाइएको छ । ‘विद्यालय जाँदा खोलाले किताब, कापी सबै बगाएर लान्थ्यो, खोला तर्न समस्या भएपछि वर्षायामभरि विद्यालय जाँदैनथ्यौं’–उनीहरूले भने । अधिकांशको मुख्य समस्या भनेको गरिबी हो, घरमा काम नगरी खान पुग्दैन, त्यसैले विद्यालय जान छाडेको उनीहरूको भनाइ छ ।

सबैभन्दा बढी सन्थाल समुदायको बसोबास रहेको क्षेत्रमध्ये झापाको गौरीगञ्ज गाउँपालिका शिक्षा शाखाका प्रमुख केशव भट्टराईका अनुसार सन्थाल समुदायका ९० प्रतिशत बालबालिकाको ‘ड्रपआउट’ हुनेगरेको देखिन्छ । गौरीगञ्ज गापा–२ आदर्श माविमा १ सय ८६ जना सन्थाल समुदायका बालबालिका अध्ययनरत रहेका छन् । यहाँ जम्मा ६ सय १ जना विद्यार्थी रहेका छन् । जसमध्ये २८ प्रतिशत विद्यार्थी सन्थाल समुदायका रहेको प्रधानाध्यापक लक्ष्मण राजवंशीले जानकारी दिए ।

खासगरी सन्थाल समुदायका बालबालिकाहरू कक्षा १ देखि कक्षा ५ सम्मको सङ्ख्या निक्कै बढी हुन्छ । जब ठूलो कक्षामा पुग्छन्, अनि विद्यालय छोड्ने गरेको प्रधानाध्यापक राजवंशीले जानकारी दिए । ‘सन्थाल समुदायका कक्षा एकमा २० जना बालबालिकाले अध्ययन गर्न शुरु गरेकोमा यो सङ्ख्या एसईईमा पुग्दा मुस्किलले एक–दुई जनाभन्दा बढी हुँदैनन्’–उनले भने ।

गरिबी र जनचेतनाको कमीका कारण नै बालबालिका विद्यालय छोड्ने गरेको अनुभव गौरीगञ्ज गापा–२ स्थित जनकल्याण प्राविका शिक्षक गोपाल ताजपुरिया सुनाउँछन् । सानो काम गर्न नसक्ने उमेरका बालबालिका मात्र विद्यालयमा आउँछन् । बाहिर ज्याला मजदुरी गर्न सक्ने भएपछि सबै कामतिर लाग्छन्, विद्यालयमा आउँदैनन् । यसका अलावा सन्थाल समुदाय अहिले पनि एकै ठाउँमा बस्ने, आफ्नै मातृभाषा मात्र बोल्ने भएकाले पनि नेपाली वा अङ्ग्रेजी भाषामा कमजोर हुन्छन् । कमजोर नतिजा भएपछि विद्यालय नै छाड्ने गरेको शिक्षकहरूको अनुभव छ ।

धेरैले ठूलो कक्षामा गएपछि कापी, कलमलगायतका शैक्षिक सामग्री नै किन्न नसकेर पनि विद्यालय नआउने गरेको पाइन्छ । हरेक शैक्षिक सत्रमा विभिन्न कार्यक्रम ल्याए पनि पूर्वी तराई जिल्लाका अल्पसङ्ख्यक आदिवासीमा पर्ने सन्थाल समुदायबाट एसएलसी वा एसईई पास गर्नेको सङ्ख्या नगण्य रूपमा छ ।