धनकुटा /  धनकुटा नगरपालिका वडा नं. १० का वडाध्यक्ष कमल कार्की माथि वडावासीले वडाको विकासको लागी आएको विभिन्न योजनाको वजेटमा भ्रष्टचार गरेको आरोप लगाएका छन् ।
उनीहरुले कार्की वडामा वडाध्यक्ष निर्वाचित भएदेखी नै संचालन भएका विभिन्न योजनाहरुको वजेटमा भ्रष्टचार गरेको भन्दै धनकुटा नगरपालिकामा निवेदन दिएको भए पनि सुनवाई नभएको गुनासो गरेका छन् । उनीहरुले पटक–पटक न्यायीक समितिमा गएको असारको पहिलो हप्ता मै निवेदन दिदा पनि अहिलेसम्म सुनवाई नभएपछि संचार माध्यामहरुलाई विकल्पको रुपमा खोजिएको वडावासी इश्वर वस्नेतले जानकारी दिए ।
वडाध्यक्ष कार्कीले आ.व.०७४/०७५ र ०७५/०७६ दुवै आर्थिक वर्षमा संचालन भएका वडाका योजना तथा कार्यक्रमहरुमा भ्रष्टचार गरेको उनले आरोप लगाएका छन् । वस्नेतले भने–“आ.व.०७४/०७५ मा वडाध्यक्ष कार्कीले भकारो सुधार कार्यक्रमको लागी १ लाख रुपयाँ विनियोजन गरेको तर खर्च गरिएको छैन ।” त्यसैगरी पात्ले सान्ने सामुदायिक वनबाट विकास निर्माणको लागी माँझगाउँ र मनधारा टोललाई छुट्याईएको ५० हजार रुपयाँ वडाध्यक्ष कार्कीले आफै चलाएको, उत्तरपानी मेनलाई खानेपानीको गेट खरिद गर्नको लागी भनेर ५० हजार विनियोजन गरिएको तर गेटबल खरिद नगरी रकम हिनामिना गरेको वस्नेतले अराोप लगाए । उनले हरेक वडामा संचालन गरिएको भनिएको योजनाहरुको प्रक्रियागत ढंगले छानविन हुनु पर्ने माग राखेका छन् ।
त्यसैगरी अर्का वडावासी तेजवहादर कार्कीले सिद्धदेवी प्रा.वि.घेरवारा गर्ने भनी विनियोजन गरिएको ५० हजार र खेलमैदानको लागी विनियोजन गरिएको ५० हजार रुपयाँ पनि विषयन्तर गरी विल मिलाएर वडाध्यक्षले नै अपचलन गरेको वताए । कार्कीले आ.व.०७५÷०७६ मा वडा कार्यालयले ८ वटा वोयर बोका खरिदको लागी २ लाख रुपयाँ विनियोजन गरिएकोमा वोका खरिदमा समेत भ्रष्टचार गरेको आरोप लगाएका छन् । उनले २ लाखमा ८ वटा वोयर बोका खरिद गर्ने भनियो, तर वोयर बोकाको जीन नभएको लोकल वोका ल्याएर वडाध्यक्ष कार्की र वडा सदस्य कल्पना राईको मिलेमतोमा भ्रष्टचार भएको वताए । कार्कीले बोयर बोका साँच्चिकै वोयर हुन कि होईन्न भनेर पशु विज्ञ ल्याएर जाँच्दा पनि थाहा हुने दावी गरे ।
त्यसैगरी आ.व.०७५/०७६ मा उत्तरपानी–पात्लेफारम मनधारा ग्रामिण सडक निर्माणको लागी १५ लाख रुपयाँ विनियोजन भएकोमा मिलेमतोमा वजेट दुरुपयोग गरेको कार्कीले आरोप लगाएका छन् । उनीहरुले नगरपालिकावाट अनुगमन गर्न नआईकनै मिलेमतोमा काम सकेको वताएका छन् । उनीहरुले उत्तरपानी–पात्लेफाराम मनधारा ग्रामिण सडक उपभोक्ता समिति गठन नै नगरी पारीपात्ले मनधारा टोल विकास संस्थाका अध्यक्ष हेम वहादुर दाहाललाई वडाध्यक्ष कमल कार्कीले अख्तियारी दिएर मिलेमतोमा काम गरेको आरोप समेत लगाएका छन् । दाहाल पारिपात्ले कृषि अनुशन्धान केन्द्रमा कार्यरत सरकारी कर्मचारी हुन् । सडक निर्माण गर्दा १५ लाखको १० प्रतिसत धरौटी उपभोक्ताले नगरपालिकामा १ लाख, ५० हजार राख्नु पर्नेमा डोजरवाला ठेकेदारसंग मिलेमतो गरेर ठेकेदार स्वयमले जम्मा गरेर योजना मिलेमतोमा सम्पन्न गरेको खुलेको छ । पारिपात्ले मनधारा टोल विकास संस्थाका अध्यक्ष हेमवहादुर दाहालले भने कुल वजेट १५ लाख नभै १३ लाख, ५० हजारमा, १२ लाख, ७० हजार, ४ सय २० रुपयाँ नगरपालिकावाट भुक्तानी लिएर ११ लाख, ५० हजार रुपयाँ डोजरलाई भुक्तानी दिएको वताए । दाहालले भने आफुहरुले ८ वटा टोल विकास संस्थाहरु मिलेर सडक निर्माण कार्य सम्पन्न गरेको दावी गरेका छन् । उल्टै १ लाख, ६६ हजार रुपयाँ भ्याट तिर्नु पर्दा सडक निर्माणमा घाटा लागेको र पैसा भुक्तानी गर्न नपुगेको दाहालले ब्लाष्टलाई टेलिफोन मार्फत वताए ।
वडा नं.१० का वडाध्यक्ष कमल कार्कीले भने सवै योजनाहरु विधि र प्रक्रिया पु¥याएरै सम्पन्न गरेको दावी गरे । उनले भकारो सुधार कार्यक्रमको वजेट स्थानिय उपभोक्ताहरु विच विवाद भएपछि वडा सचिवले ३३ हजार पेस्की लिएको रकम समेत नगरपालिकामा नै फिर्ता गरेको, कार्यक्रम नभएको वताएका छन् । त्यसैगरी पात्ले सान्ने सामुदायिक वन उपभोक्ता समितिवाट विकास निर्माणको लागी आएको ५० हजार रुपयाँ आफ्नै नाममा चेक काटिएको हो, त्यही पैसाले पात्ले मनधारा सडक ट्रयाक चेन्ज गर्न डोजर लगाएर खर्च गरिएको वडाध्यक्ष कार्कीले भने । उनले केही स्थानियको विरोधको कारण आ.व.०७४÷०७५ मा टोल विकास संस्थाहरुको क्षमता वृद्धि कार्यक्रमको लागी विनियोजन गरिएको १ लाख र अगुवा अुदवा कृषकलाई अदुवाको विउ वितरण गर्न भनी विनियोजन गरेको ५० हजार रुपयाँ फ्रिज भएको वताए ।
सो विषयमा, धनकुटा नगरपालिकाका उप–प्रमुख एवं न्यायिक समितिका संयोजक शकुन्तला वस्नेतले अन्य वडाको तुलनामा वडा नं.१० मा पहिलो आर्थिक वर्ष देखी नै विवाद आएको वताईन । उनले वडा नं.१० का केही वडावासीले वडाध्यक्ष कमल कार्की विरुद्ध गुनासो नगरपालिकामा लिखित रुपमा दिएको वताइन । वडाको विकास निर्माणको विषयलाई लिएर वडावासीसंग विवाद भएपछि वडा नं.१० मै गएर सार्वजानिक सुनवाई कार्यक्रम समेत गरेको वताईन ।