तेहरान / अमेरिकासँग वार्ताका लागि इरानविरूद्ध उसले लगाएको प्रतिबन्धहरू हटाउनुपर्ने पूर्व शर्त तेहरानको रहेको इरानी राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताए ।
इरानी टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण भएको एक सम्बोधनमा राष्ट्रपति रौहानीले भने , “वार्ताका लागि पहिलो शर्त अमेरिकाले इरानविरुद्ध लगाएको ‘निर्मम’ तथा ‘गैरकानूनी’ प्रतिबन्ध हटाएर इरानीको अधिकारको सम्मान गर्नुपर्ने हुन्छ ।” “हाम्रो व्यवहारमा कुनै परिवर्तन हुन अमेरिकाले विगतमा गरेका निर्णयप्रतिको पश्चातापबाट मात्र सम्भव छ ।” “मैले पुनः दृढतासाथ यो भन्छु कि उनी (अमेरिकी) हरूले सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुने गलत निर्णयलाई सच्चाउन तयार बन्नुपर्छ ।” उनले थपे, “उनीहरूले विश्वको चाहना र सुरक्षालाई सम्मान गर्नुपर्छ र इरानको क्रान्ति र इरानीहरूको अधिकारलाई मान्यता दिनुपर्छ ।” इरानी राष्ट्रपति रौहानीले यदि राष्ट्रियताको पक्षमा गरिने कुनैपनि भेटवार्ताका लागि आफू तयार रहने सोमबार बताएका थिए । यसैबीच इरानी अधिकारीहरूले पनि अमेरिकासँगको वार्ताका लागि वासिङ्टन आणविक सम्झौता अनुरूप चल्नुपर्ने बताएका छन् ।