पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेका साहित्यकार रमेश सायनलाई २ लाख रुपैयाँ राशीको पद्यश्री साहित्य पुरस्कार प्रदान हुने भएको छ ।

खेललाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगर चितवनले ०७५ सालको पद्यश्री साहित्य पुरस्कार सायनको निवन्धकृति ‘छुटेका अनुहारलाई प्रदान गर्ने भएको हो । युवा साहित्यकार सायनले आफैंले भेटेर छुटेका अनुहार र तिनीहरुको मनोवृत्ति गहिराईसम्म पुगेर कलात्मक हिसावले सुक्ष्म चित्रण गरेका छन् ।

पथरीशनिश्चरे ४ का उनको पहिलो पुस्तक कृति कविता संग्रह ‘भागेर भूगोलभरि’ ०७० मा प्रकाशित भएको छ । नेपाल मेडिकल साहित्य परिवारले सो कृतिका लागि सोही वर्ष साहित्य परिवार वर्ष पुरस्कार प्रदान गरेको थियो । ‘छुटेका अनुहार’ उनको दोस्रो कृति हो ।

यसैगरी, प्रतिष्ठानले इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई यस वर्षको पद्यश्री साधना सम्मान प्रदान गर्ने भएको छ । दुवै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको अध्यक्ष जीवा लामिछानेद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । पुरस्कार कोजाग्रज पूर्णिमाको दिन प्रदान गरिने छ ।

उता, कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने २०७५ सालको कृष्णभूषण बल सिर्जना पुरस्कार आख्यानकार, साहित्यकार, कलाकार गणेश रसिकलाई र कृष्णभूषण बल युवा सिर्जना पुरस्कार कवि सुदीप पाख्रिनलाई प्रदान गरिने भएको छ ।

पुरस्कारको राशि क्रमशः पचीस हजार र एघार हजार एक सय एघार रहेको छ । पुरस्कार आगामी भदौ २८ गते विराटनगरमा समर्पण गरिने छ ।

यसैगरी, राष्ट्यि युवा सेवा कोषले यस वर्षको युवा वर्ष मोती पुरस्कार झापा दमकका धनकुटे कान्छा (शंकर चापागाईं) र काभ्रेका फुलमान बललाई प्रदान गर्ने भएको छ । भदौ १३ गते १५४ औं मोति जयन्तीका अवसरमा काठमाडौंमा हुने कार्यक्रममा ५० हजार नगद सहित पुरस्कार प्रदान गरिने उल्लेख छ ।