बिर्तामोड/ सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने तयारी शुरु गरेसँगै पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा धमाधम होटलहरू सञ्चालनमा आउन थालेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रको रूपमा परिचित इलामको कन्याम, श्रीअन्तु लगायतका स्थानमा धमाधम नयाँ होटलहरू खुल्न थालेका छन् । विशेष गरी भारतको दार्जिलिङ, मिरिक, सिक्किम, सिलिगुडीका साथै भुटान लगायतका स्थानबाट पर्यटक घुम्न आए पनि उचित बासस्थानको अभावमा दिनभरि घुमेर फर्किने गरेको भन्दै झापाका एक व्यवसायीले सूर्योदय नगरपालिका– ८ मा इस्र्टन ब्लु होटल सञ्चालनमा ल्याएका छन् ।

होटल सञ्चालनमा आएसँगै विदेशबाट आएका पर्यटकहरुले रात बिताउने र यहाँको आय स्रोतमा वृद्धि हुने अपेक्षा गरिएको छ । साढे चार रोपनी क्षेत्रफलमा फैलिएको इस्र्टन ब्लु होटलमा चाइनिज, कन्टिनेन्टल युरोपियन लगायत ग्राहकले चहाना गरे अनुसारको परिकार बनाउने होटलका सञ्चालक नगेन्द्र रिजालले जानकारी दिए ।

१४ करोड रुपैयाँको लागतमा निर्माण गरिएको होटलमा एक सय जनासम्म अट्ने क्षमताको मिटिङ हल, हप्तामा एक दिन सांङ्गीतिक कार्यक्रम, ५० जनासम्म राख्न सक्ने क्षमताको रुमहरू रहेको सञ्चालक रिजालले बताए । पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्दै पर्यटन प्रर्वद्धनमा होटल सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।

होटलले तीन वटा होमस्टे समेत निर्माण गर्नुका साथै होटलको उच्च स्थानमा दूरविन राखेर झापा, इलामका साथै भारतका विभिन्न स्थानको अवलोकन समेत गर्न सकिने व्यवस्था गरिने सञ्चालक रिजालको भनाइ छ । उनले होटललाई अझ परिस्कृत गर्दै चिल्ड्रेनपार्क निर्माण गर्दै बालमैत्री र पारिवारिक होटल निर्माण गरिने उल्लेख गरे । पर्यटन प्रवद्र्धनका निजी क्षेत्रले सहयोग गरे पनि सरकारी तवरबाट भने अपेक्षाअनुसारको सहयोग प्राप्त हुन नसकेको व्यवसायीहरूको भनाइ छ ।