पंक्षीहरूमा देखिने एक प्रकारको रोग बर्ड फ्लुले बेला बेला नेपालका विभिन्न ठाउँमा पनि आतङ्क सृजना गर्छ । खासगरी कुखुरा फर्महरूमा बर्ड फ्लु देखिएपछि फर्म र वरपरका कुखुरा तथा हाँस मारिएका खबर बारम्बार सुन्ने गरिन्छ । पंक्षीबाट मानवसम्म पनि फैलिन सक्ने भएकाले पनि कुनै ठाउँमा बर्ड फ्लु देखिएपछि स्थानीयहरूमा त्रास उत्पन्न हुन्छ । मोरङको कानेपोखरीमा केहीदिन अघि बर्ड फ्लुको सङ्क्रमण देखियो । सङ्क्रमण भेटिएको क्षेत्रका सयौं हाँस,कुखुरा मारियो ।

पूर्वमै पनि पटक पटक बर्ड फ्लु देखा परेको छ । बर्ड फ्लु देखा परेका क्षेत्रमा हाँस, कुखुरा मार्ने, औषधी छर्ने काम हुन्छ । फेरि केही समयपछि अर्को ठाउँमा बर्ड फ्लु देखा पर्छ । बारम्बार बर्ड फ्लु देखा परे पनि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले बर्ड फ्लु नियन्त्रणका लागि विशेष नीति बनाउन सकेका छैनन् । सरकारी निकायहरु पूर्व सतर्कता अपनाउनु भन्दा बर्ड फ्लु् सङ्क्रमण देखिएपछि मात्र तात्तिने गर्छन् । देशमै केही गरौं भनेर कुखुरा, हाँस जस्ता पंक्षी पाल्ने युवाहरु बर्ड फ्लुका कारण लगानी डुब्ने अवश्थामा पुग्छन् । यसबाट अन्ततः देशलाई नै घाटा हुन्छ ।

विश्व पशु स्वास्थ्य सङ्गठनले ‘नोटिफाइअबल एभियन इन्फ्लुएन्जा भाइरसको ‘सब–टाइपबाट हुने सङ्क्रमणलाई बर्ड फ्लु भनेको छ । विज्ञहरूका अनुसार पशुपक्षीमा लाग्ने बर्ड फ्लुको भाइरस ‘अस्थिर खालको हुन्छ भने यस्ता भाइरसले आफ्नो स्वरूप पनि चाँडै परिवर्तन गर्न सक्छन् । त्यसैले नेपालमा मात्र होइन अन्यत्र पनि बर्ड फ्लुको सङ्क्रमण देखिएपछि सङ्क्रमित पशुपक्षी र तिनका उत्पादन लगायत सामग्रीलाई नष्ट गरिन्छ।

आफ्नो स्वरुप फेर्दै पटक पटक देखा पर्ने बर्ड फ्लुले कुनैपनि बेला मानवमा पनि सर्न सक्ने विज्ञहरूले बताउँदै आएका छन् । तर पंक्षीबाट मानवमा बर्ड फ्लु सर्नु चाहिं दुर्लभ नै मानिन्छ । बर्ड फ्लुबाट मानिसको मृत्युदर भने ५० प्रतिशतभन्दा बढी रहेको विज्ञहरूले बताउने गरेका छन् ।

मानवमा सर्ने एच ५ एन १ बर्ड फ्लु सन् १९९७ मा पहिलो पटक हङकङमा देखा परेको थियो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार भियतनाम, कम्बोडिया, मलेसिया, थाइल्याण्डलगायत दक्षिणपूर्वी देशहरूमा अलि बढी मात्रमा यस्तो बर्ड फ्लु देखिएको छ। त्यस्तै मध्यपश्चिमी देशहरू इराक, इजिप्टमा पनि देखिएको छ। दक्षिण एशियाली देशमा भने सन् २००७ मा पाकिस्तानमा पहिलो पटक एच ५ एन१ देखिएको थियो भने सन् २००८ मा बङ्गलादेशमा ।

नेपालमा पहिलो पटक सन् २००९ मा कुखुरामा बर्ड फ्लु देखिएको थियो । तर हाम्रा तीनै तहका सरकारले बर्ड फ्लुबारे ध्यान दिएको पाइँदैन । आम सर्वसाधारणमा त बर्ड फ्लुबाट जोगिन के गर्ने भन्ने राम्रो ज्ञान छैन नै कुखुरा, हाँस जस्ता पंक्षी पालन गर्नेहरूसँग समेत राम्रोसँग यसबारे ज्ञान छैन । त्यसैले चाँडो तीनै तहका सरकारले बर्ड फ्लुबारे नीति बनाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।