इनरुवा / इनरुवामा आधुनिक पार्क बन्ने भएको छ । यूएनडीपीले निर्माण गर्न लागेको पार्कको नाम यूएन पार्क राखिने भएको छ ।

इनरुवा नगरपालिकाको वडा नम्वर २ मा निर्माण गर्न लागिएको पार्क बहुसांस्कृतिक, स्वच्छ, हराभरा र स्वयं उर्जा सम्पन्न हुने छ ।

लक्ष्मी नारायण मन्दिर पछाडीको साढे चार कट्ठा क्षेत्रफलमा निर्माण गरिने पार्कको लागत १ करोड ६१ लाख ७५ हजार २ सय ५० रुपैंया रहने जानकारी दिइएको छ ।
कार्यक्रम संयोजक धिरज भट्टराईले पत्रकार सम्मेलनको आयोजना गरी बन्न लागेको पार्कको विषयमा जानकारी गराएका हुन् ।
पार्क निर्माणमा यूएनडीपीले ८७ लाख २० हजार २ सय ५० रुपैंया खर्च गर्दै छ । पार्क निर्माण स्थलमा अन्य आवश्यक संरचना निर्माणलागि इनरुवा नगरपालिकाको कार्यालयले समेत ७४ लाख ५५ हजार खर्चिने नगर प्र्रमुख राजन मेहताले बताए ।
पार्क निर्माणका क्रममा रकम अभाव भए आवश्यक रकम थप गरिने कार्यक्रम संयोजक भट्टराईले बताए ।
प्रमुख जिल्ला अधिकारी सुनसरीको समन्वयमा निर्माण गर्न लागिएको पार्क सन् २०२२ भित्रमा पुरा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पार्क निर्माणका लागि प्रारम्भिक चरणको काम थालिसकिएको छ । यूएन पार्क बहुसांस्कृतिक, आधुनिक र सुविधा सम्पन्न हुने जानकारी दिइएको छ । भट्टराईका अनुसार यूएनडीपीले दिगो बिकास लक्षको अवधारणा अनुरुप थालिएको निर्माण कार्य सम्पन्न पश्चात पार्क प्रदेशकै नमूना हुने दाबी गरे । भट्टराईले दिएको जानकारी अनुसार इनरुवाको यूएन पार्क अपाङ्गमैत्री, उचित पार्किङ र बालमैत्री सहितको प्रविधि सम्पन्न हुनेछ ।