धरान/कथाकार दाजु गुरुङको डायस्पोरिक कथा सङ्ग्रह ‘टाँकीका फूलहरू’ माथि धरानमा शनिबार विमर्श गरिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसमा गरिएको विमर्शमा वक्ताहरूले कथा सङ्ग्रहमा विदेशमा रहका नेपालीको ‘मनोविज्ञान’ लाई समेटेको बताए । समालोचक रामजी तिम्सिनाले सङ्ग्रहमा तीन वटाबाहेक अन्य सबै अकथा भएको टिप्पणी गरे । भने, ‘मोनिका, बाटो विराएको मान्छे र मिलेनियमबाहेक बाँकी कथा, कथा होइनन् । धेरै कथामा प्लट नै छैन ।’

तर, सङ्ग्रहमा रहेका सबै कथाको केन्द्रमा मनोविज्ञान रहेको उनले बताए । प्रा.डा. रमेश घिमिरेले हङ्कङ बुझ्न, त्यहाँको समाज बुझ्न कथा सङ्ग्रहले मद्दत गरेको बताए । कथाकारले उत्कृष्ट कथा लेख्नका लागि अझै अभ्यास गर्नुपर्ने देखिएको उनको भनाइ थियो । कवि कुन्ता शर्माले कथा सरल र सुन्दर बिम्बहरू प्रयोग भएकाले सबै पाठकका लागि ग्राह्य रहेको बताइन् । केही कथाहरूमा कथाकारले पात्रहरूसँगै पाठकलाई डुलाउन सफल भएकाले लेखकको सफलता देखिएको उनले बताइन् ।

टाँकीका फूलहरूलाई बिम्बात्मक रूपमा पैसासँग तुलना गरिएकाले हङकङमा पैसा कमाउन निकै दुःख गर्नुपर्ने तर्क कथाकारले अगाडि सारेको उनले बताइन् । वक्ताका रूपमा रहेका सागरमणि सुवेदीले घटना घटिसकेपछिको कार्यकारण रहेकाले कथाहरू पढ्दा उत्सुकता जगाउने खाल्को रहेको बताए । उनले पनि धेरै कथाहरू कथाको रूपमा नरहेको टिप्पणी गरे ।

डा. रमेश इजमले कथाले पाठकलाई तान्न सक्ने सामथ्र्य रहेको बताए । कथाकार शरण राईले हरेक कथा पढ्दा बेग्लाबेग्लै प्रभाव पार्ने बताए । प्रा.डा. टङ्क न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानको आयोजना तथा हङकङ साहित्यिक साझा शृङ्खलाको सहआयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण राजेश विद्रोहीले गरेका थिए ।

कथाकार गुरुङको तेस्रो संस्करणको रूपमा प्रकाशित भएको कथा सङ्ग्रहमाथि वक्ताहरूको टिप्पणीलाई बरिष्ठ कवि अनिल पौडेलले धन्यवाद ज्ञापन गरे । केन्द्रका अध्यक्ष गोविन्द तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषाविद् प्रा.डा. टङ्क न्यौपानेलगायत सहभागी थिए ।